गान्तोक, ०७ अक्टोबर। राजधानीस्थित पाल्जोर स्टेडियममा जारी ४२औँ अखिल भारतीय राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिताको तेस्रो दिन बुधबार एक खेल सम्पन्न भयो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनल्टी सुटआउटबाट गरिएको थियो। पेनल्टी सुटआउटमा सिक्किम आक्रमणले ओडिशा ११ लाई ५-३ गोलले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा स्थान सुरक्षित गरेको छ।
टाइब्रेकरमा सिक्किम आक्रमणका गोलरक्षक निमडुप लेप्चाले निर्णायक भूमिका निर्वाह गरे। उनले ओडिशा एकादशको एक पेनल्टी रोक्दै आफ्नो टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान गरे। उत्कृष्ट प्रदर्शनका लागि निमडुप लेप्चालाई खेलका उत्कृष्ट खेलाडी घोषित गरियो।
बुधबारको खेलमा मुख्य अतिथि एसटीसीएसका अध्यक्ष तथा विधायक सामडुप छिरिङ भोटिया तथा सीडीकोका अध्यक्ष सोनाम टासी भोटिया र एसटीसीएसका प्रबन्ध निर्देशक लोब्जाङ छिरिङ भोटिया अतिथिका रूपमा उपस्थित थिए। यसैगरी, धर्मशालाका लागि टीवाईसी प्रतिनिधि पेमा ओङ्दा विशेष अतिथिका रूपमा सहभागी थिए।
यस वर्षको ४२औँ राज्यपाल स्वर्ण कप गत ५ अक्टोबरदेखि पाल्जोर स्टेडियममा शुरु भएको हो। प्रतियोगितामा १४ टोली सहभागी छन् र फाइनल खेल १६ अक्टोबरमा हुनेछ। सहभागी टोलीमा देशका विभिन्न क्षेत्रका प्रतिष्ठित क्लबहरूसँगै सिक्किमका स्थानीय टोलीहरू पनि रहेका छन्।
भोलि ब्ल्याक ईगल विरुद्ध एफसी बनारस-बागपतबीच खेल हुनेछ।
Leave a comment


