
सोरेङ, 12 अक्टोबर। मुख्यमन्त्री पीएसले सोमवार सोरेङ जिल्लास्थित सरकारी उच्चतर माध्यमिक विद्यालय, छोटा साम्दोङको स्वर्णजयन्ती समारोहमा सहभागिता जनाएका छन्। उनीसँग शिक्षा विभागका मन्त्री राजु बस्नेत पनि उपस्थित रहेका थिए।समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले उक्त विद्यालयमा आफूले शिक्षकको रूपमा बिताएको समयको स्मरण गरे। उनले स्थापनाको 50 वर्ष पूरा गरेकोमा विद्यालयलाई बधाई दिए र वार्षिक प्रतिवेदनमा उल्लेख गरिएका विद्यालयका उपलब्धि तथा प्रगतिहरूको प्रशंसा गरे।मुख्यमन्त्रीले जनताको जीवनस्तर उकास्ने उद्देश्यले राज्य सरकारद्वारा सञ्चालित विभिन्न कल्याणकारी पहल र योजनाबारे प्रकाश पारे। उनले सिक्किम गरीब आवास योजना, श्रावण कुमार पुरस्कार, मुख्यमन्त्री स्वरोजगार योजना, आमा सशक्तिकरण योजना, मुख्यमन्त्रीको स्वेच्छिक अनुदान (सीएमडीजी) र मुख्यमन्त्री चिकित्सा सहायता योजना (सीएमएमएएस) माथि चर्चा गरे। उनले आगामी वर्षहरूमा सिर्जना हुने रोजगारीका अवसर, विभिन्न क्षेत्रमा रोजगारीलाई स्थायी गर्ने पहल र पर्यटन प्रवर्द्धनमा राज्य सरकारको प्रतिबद्धताबारे पनि जानकारी दिए।यसका साथै मुख्यमन्त्रीले सोरेङ जिल्ला छिट्टै नै उन्नत दूरसञ्चार सेवाहरूसँग जोड़िने कुरा बताए। उनले मुख्यमन्त्रीको स्वेच्छिक अनुदान (सीएमडीजी) मार्फत सरकारी उच्चतर माध्यमिक विद्यालय, छोटा साम्दोङलाई एउटा चिकित्सा भ्यान उपलब्ध गराइने घोषणा पनि गरे।सोरेङ-च्याखुङका विधायक आदित्य गोलेले यस महत्त्वपूर्ण अवसरमा विद्यालय र आयोजक समितिलाई बधाई दिए। उनले छोटा साम्दोङमा सञ्चालित विभिन्न विकासमूलक पहलबारे चर्चा गरे, जसमा आवासीय मोडल स्कूल, युमा माङ्हिम, सार्वजनिक खेलमैदान, देवानितार र आरोबोटेमा सामुदायिक भवन तथा यस क्षेत्रभित्र र वरिपरि सड़क निर्माण कार्यहरू समावेश छन्। उनले दुर्गम क्षेत्रहरूको विकास तथा पूर्वाधार र सार्वजनिक सुविधाहरूमा सुधार ल्याउन राज्य सरकार प्रतिबद्ध रहेको दोहोर्याए। उनले छोटा साम्दोङका जनताको तर्फबाट मुख्यमन्त्रीसमक्ष सड़क सञ्जाल, पूर्वाधार, पशुपालन परियोजना, पर्यटन र अन्य अत्यावश्यक क्षेत्रहरूमा थप विकासको आवश्यकतामा जोड़ दिँदै विभिन्न मागपनि राखे।


