
गान्तोक, 19 नोभेम्बर। सिक्किमका राज्यपाल दुष्यन्त गौतमले बिहीबार पाकिम जिल्लाको आधिकारिक भ्रमणका क्रममा पाकिम विमानस्थलको निरीक्षण गर्नुका साथै नाइलिटस्थित इण्डिया एआई डेटा एवं एआई ल्याबमको भ्रमण गरे।विमानस्थल निरीक्षणका क्रममा राज्यपालले त्यहाँको वर्तमान अवस्था तथा सञ्चालन व्यवस्थाबारे जानकारी लिए। उनले विमानस्थलबाट सञ्चालन भइरहेका तथा अवरुद्ध हवाई उडानहरूको अवस्थाबारे विस्तृत जानकारी लिनुका साथै विमानस्थल प्राधिकरण र सम्बन्धित वरिष्ठ अधिकारीहरूसँग यसको नियमित सञ्चालन तथा प्राविधिक पक्षबारे छलफल गरे।यस क्रममा उनले क्षेत्रको हवाई सम्पर्कलाई थप प्रभावकारी बनाउन तथा सञ्चालनका क्रममा देखिएका चुनौतीहरूको समाधान गर्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए।यसैगरी, राज्यपालले नाइलिटमा स्थापित ‘इन्डिया एआई डेटा एन्ड एआई ल्याब’ को पनि अवलोकन गरे। इलेक्ट्रोनिकी तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा ‘इन्डिया एआई मिसन’ अन्तर्गत सञ्चालित यस प्रयोगशालाले तालिम तथा तथ्याङ्कमा आधारित सीप विकासमार्फत कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा दक्ष जनशक्ति तयार पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।भ्रमणका क्रममा राज्यपालले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै उनीहरूले तयार पारेका नवीनतम परियोजनाहरूको प्रशंसा गरे। युवाहरूका यस्ता सिर्जनात्मक प्रयासबाट ‘डिजिटल भारत’ को परिकल्पना साकार भइरहेको उनले बताए।उक्त अवसरमा जिल्ला प्रशासन, भारतीय विमानपत्तन प्राधिकरण तथा नाइलिटका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको लोक भवनले विज्ञप्तिमा जनाएको छ।


