गान्तोक, 03 मार्च। युनेस्को र रोयल इनफिल्डले द ग्रेट हिमालयन अन्वेषणको तेस्रो संस्करण शुरु गरेको छ, जुन भारतीय हिमालय क्षेत्रको अमूर्त सांस्कृतिक सम्पदा (आईसीएच) को संरक्षण र दस्तावेजीकरणमा केन्द्रित पहल हो। यस वर्ष यो अभियानले सिक्किमको समृद्ध सांस्कृतिक परम्परालाई प्रकाशमा ल्याउने छ र मोटरसाइकल चालकहरूको दुई समूहले राज्यभरि दश अद्वितीय अभ्यासहरूको अन्वेषण र दस्तावेजीकरण गर्नेछ।
विधायक आदित्य गोलेले आज गान्तोकमा कार्यक्रमको आधिकारिक रूपमा शुभारम्भ गरे। उनले यो अद्वितीय पहलको उद्देश्य भारतीय हिमालयको जीवित सांस्कृतिक सम्पदाको दस्तावेजीकरण र संरक्षण गर्नु हो, जसमा अभ्यास, कौशल, प्रदर्शन कला, अनुष्ठान र शिल्पकला सामेल रहकेो बताए।
उनले यो राइडले सिक्किमभरि दश सांस्कृतिक परम्पराहरूको अन्वेषण गर्ने बताए, जसमा अनुसन्धानकर्ताहरूले भिडियो र सहभागीहरूको गहन अवलोकन मार्फत दस्तावेजीकरण गर्नेछन्। उनले यो परियोजनाले सिक्किम र भारतको अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न मात्र मद्दत गर्दैन, तर स्थानीय समुदायहरूको उत्थान गर्दै दिगो पर्यटनलाई पनि समर्थन गर्नेछ भनी बताए।
उनले सिक्किम यसको समृद्ध जैविक विविधता, संस्कृति र परम्पराका लागि परिचित छ, साथै शक्तिशाली कञ्चनजङ्घाको आतिथ्यको लागि पनि परिचित रहेको बताए। यदि सही समर्थन, मार्गदर्शन र नीतिहरू लागू गरियो भने हाम्रो राज्यमा एक अग्रणी पर्यावरण-मैत्री दिगो पर्यटन गन्तव्य बन्ने अपार सम्भावना छ। रोयल इनफिल्ड फाउन्डेशन र युनेस्कोले यस लक्ष्यतर्फ काम गर्न शुरु गरिसकेको बताउॅंदै उनले खुशी व्यक्त गरेका छन्।

Leave a comment