नाम्ची, 10 अप्रेल। प्रतिष्ठित प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी अनावरण गरिएको छ। नाम्चीस्थित भाइचुङ स्टेडियममा आज आयोजना गरिएको सिक्किम प्रिमियर लिग 2025 को भव्य उद्घाटन समारोहमा ट्रफी सार्वजनिक गरिएको हो।
मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको आयोजना आगामी डिस्कवर राबोङ छो-जो फेस्ट 2025 को एक प्रमुख आकर्षण रहेको छ। राज्य पर्यटन एवं नागरिक उड्डयन विभागको समर्थनमा यस टुर्नामेन्टको आयोजना 11 अप्रेलदेखि शुरू हुनेछ र 16 अप्रेलमा समापन हुनेछ।
मुख्यमन्त्री प्रेमसिंह तामाङको गतिशील नेतृत्वमा राज्य सरकारले राज्यव्यापी रूपमा खेलकुदको विकासलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको छ। यस्ता गतिविधिहरूको माध्यमद्वारा राज्य सरकारले जीवन्त खेलकुद वातावरण सृजना गर्ने, प्रतिभाहरूलाई आफ्नो कौशल प्रदर्शन गर्न मञ्च प्रदान गर्ने र भावी पुस्तालाई प्रेरित गर्ने उद्देश्य लिएको छ।
एसपीएलको उद्घाटन समारोहमा भलिबल ट्रफीको अनावरणले राज्यको लागि थप समावेशी र खेलकुद केन्द्रित भविष्यतर्फ एक प्रतीकात्मक कदमको संकेत गर्दछ भनी बताइएको छ।

Leave a comment