मंगन 26 अप्रेल। मंगन जिल्लाका जिल्लापाल अनन्त जैनले आज लाचुङ सडक मार्ग सफा गर्ने प्रगतिको आकलन गर्न स्थलगत भ्रमण गरे। भ्रमण अवधि जिल्लापालको साथमा एचुङथाङका सडीएम, डीडीएमए मंगनका प्रतिनिधिहरू, लाचुङ जुम्साका पिपन, ट्राभल एजेन्ट एसोसिएसन अफ् सिक्किम र चालक संघका सदस्यहरू पनि सहभागी थिए।
भ्रमण टोलीले ट्विन फल्सबाट निरीक्षण शुरु गर्यो, जहाँ जिल्लापालले मेसिन अपरेटरहरूलाई सडक मार्ग सफा गर्ने कार्यलाई तीव्र बनाउन निर्देश दिए। त्यसपछि, टोली खिदुमको अवरोध स्थलतिर प्रस्थान भयो र बिस्तारै लेमातिर अगाडि बढेर त्यहॉं चलिरहेको पुनर्स्थापना प्रयासहरूको अनुगमन गऱ्यो।
अहिलेसम्म चुङथाङ र ट्विन फल्सबीचका दुई प्रमुख अवरोधहरू सफलतापूर्वक हटाइएको जानकारी जिल्ला प्रशासनले गराएको छ। यसैगरी, खिदुम र लेमाका सडकहरू पनि पुनः खोलिएका छन्। यी स्थानहरू बीचका बाँकी दुई अवरोध बिन्दुहरू पनि चॉंडै सफा गरिने अपेक्षा गरिएको छ।
जिल्ला प्रशासनले आज साँझसम्म लाचुङमा फसेका पर्यटकहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेको छ। यसैगरी, लाचेनमा हाल फसेका पर्यटकहरूलाई भोलि बिहानदेखि सुरक्षित रूपमा बाहिर निकालिने अपेक्षा गरिएको छ।
ग्रेफले एके बिल्डर्स र सिक्किम ऊर्जा लिमिटेडको सक्रिय सहभागितामा पुनर्स्थापना कार्य गरिरहेको छ। प्रशासनले महत्वपूर्ण मार्गहरूको पुन: खोल्ने दिशामा सबै सरोकारवालाहरूको सहयोगी प्रयासहरूको सराहना गरेको छ।

Leave a comment