गान्तोक, 28 अप्रेल। नाम्ची जिल्ला अन्तर्गत एसडीएफ पार्टीको मुख्यालयमा आज नाम्ची जिल्ला कार्यकारिणी समितिको सभा सम्पन्न भयो। उक्त सभामा जिल्लाका सम्पूर्ण कार्यकारिणी सदस्यहरूको उपस्थिति रहेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।
सभाको अध्यक्षता एसडीएफ चेली मोर्चा प्रभारी कोमल चाम्लिङले गरेकी थिइन्। सभाले हाल सिक्किमका जनता विभिन्न समस्यासँग जुधिरहनु परेको, एसकेएम सरकारको जनविरोधी नीतिहरूका कारण जनताको आत्मबल कमजोर बन्दै गएको र वर्तमान सरकार जनहित कार्यमा पूर्णतः असफल भएको ठहर गरेको बताइएको छ।
सभामा जिल्लाका सम्पूर्ण भातृ संगठनहरूमा आवश्यक फेरबदल गर्ने र क्षेत्रीय तहमा समितिहरूलाई पुनः सुदृढ एवं सक्रिय बनाउने सम्बन्धमा गहन छलफल गरियो। सभामा पार्टीका कार्यकर्ता रूबेन राईकी आमाको निधनमा दु:ख प्रकट गर्दै दिवंगतको सम्मानमा दुई मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको बताइएको छ।

Leave a comment