गान्तोक, 17 मई। कीर्तिशेष भीमबहादुर लिम्बूको स्मृतिमा स्थापित ‘भीमबहादुर स्मृति साहित्य सम्मान’ यस वर्ष सिक्किमका वरिष्ठ साहित्यकार तथा समाजसेवी चन्द्रप्रकाश शर्मा भट्टराईलाई प्रदान गरिएको छ। यसअघि उनी 2025 को फरवरीमा असमबाट भक्त राई स्मृति पुरस्कारबाट पुरस्कृत भइसकेका छन् भने नेपालको पोखराबाट नेपाली नाट्य संस्थानले पनि उनलाई सम्मान जनाइसकेको छ।
आजको कार्यक्रममा अमेरिकावासी भूटानी नेपाली समुदायका विद्वान डा नारद पोखरेललाई ‘भीमबहादुर स्मृति साहित्य पुरस्कार’ प्रदान गरिएको छ। धरानमा आयोजित एउटा समारोहबीच उक्त सम्मान तथा पुरस्कार अलङ्करण गरिएको हो। आज सम्पन्न यस कार्यक्रममा विभिन्न साहित्यकार, कलाकार तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रमुख अतिथि प्रा डा. टङ्कनाथ न्यौपाने थिए भने विशिष्ट अतिथिमा प्रा डा. शंकर शर्मासहित अन्य स्रष्टाहरूको पनि सहभागिता रहेको थियो। उक्त कार्यक्रममा कवि भीम बिरही राईको कविता सङ्ग्रह ‘बारुदले कोरेका अक्षरहरू’ तथा अन्तर्राष्ट्रिय परदेशी साहित्य समूहले प्रकाशित गरेको ‘परदेशी’ विम्बहरू’ पत्रिकाको लोकार्पण गरिएको थियो।
सम्मानित साहित्यकार चन्द्रप्रकाश भट्टराई सन् 1992 मा प्रकाशित सावित्री र सन् 2008 मा प्रकाशित हरिश्चन्द्र कृति प्रकाशित गरिसकेका स्रष्टा हुन्। उनका अन्य कृतिहरूमा नेपाली सभ्यताको परिचय, नेपाली लोक परम्परा, नेपाली लोक संस्कृति एवम् परम्पराको ढिकुटी आदि रहेका छन्।
वि.सं. २०७९ सालदेखि प्रदान हुँदै आएको भीमबहादुर स्मृति साहित्य सम्मान र पुरस्कार पहिलो वर्ष भारतका पद्मश्री लीलबहादुर क्षेत्री र हङकङकी जानु काब्जीलाई दिइएको थियो। त्यसैगरी २०८० सालमा अमेरिका निवासी डा मधु माध्यलाई सम्मान र झापाका दीपक सुवेदीलाई पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमको आयोजना अन्तरराष्ट्रिय परदेशी साहित्य समूहले गरेको हो।

Leave a comment