
गान्तोक, 26 जून। क्षेत्र विधायक तथा विधानसभा उपाध्याक्ष राजकुमारी थापाको विशेष मार्गनिर्देशनमा याङगाङ निर्वाचन क्षेत्रमा पर्ने टिक्दे छो ताललाई पुनर्जिवित गरिने विषयमा आज याङगाङ हेलिप्याड परिसरमा एक महत्वपूर्ण बैठक आयोजना गरिएको छ। यो ताल सुक्दै गइरहेकोमा स्थानीयवासीको चिन्तालाई सम्बोधन गर्दै आज बसेको बैठकले ताललाई सुक्न नदिन र यसलाई पुनर्जिवित गर्नेबारे विविध निर्णय लिएको छ।
सभामा यस महत्त्वपूर्ण प्राकृतिक स्रोतको संरक्षण गर्ने उपायहरूबारे छलफल भयो। मुख्यमन्त्रीका ओएसडी (राजनीतिक मामिला) कर्म सुब्बाको सभाध्याक्षतामा सम्पन्न भएको सभामा याङगाङ महकुमा अधिकारी केएल दाहाल, नाम्ची जिल्ला पञ्चायत प्रकोष्ठका अध्यक्ष सीएल गुरूङ, डीएफओ (सोसियल फरेष्ट्री), पर्यटन विभागका कनिष्ठ अभियन्ता, ग्राम प्रबन्धन एवं विकास विभाग र सिक्किम विश्वविद्यालयका शोधकर्ता, याङगाङ पर्यटन विकास समिति (वाईटीडीसी) का प्रतिनिधिहरू एवं स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो। सभाअघि स्थल निरीक्षण पनि गरिएको जानकारी एसकेएम एसकेएम प्रचार प्रसार प्रकोष्ठकी अध्यक्षा रञ्जना प्रधानले विज्ञप्तिमा दिएकी छन्।



