गान्तोक, 5 नोभेम्बर । दिव्याङ्गजनका लागि भारतको पहिलो प्रतिभा खोज कार्यक्रम झूम इन्टरनेशनलको सिक्किम च्याप्टर अडिसन आज आसाम लिङ्गजेस्थित सिकनको प्रेक्षागृहमा सम्पन्न भयो। यो प्रेरणादायी प्रतियोगिता आयोजना गर्ने पहिलो राज्यको रूपमा सिक्किमले एउटा माइलखुट्टी स्थापना गरेको बताइएको छ।
कार्यक्रममा शिक्षा मन्त्री राजु बस्नेतले प्रमुख अतिथिको रूपमा उपस्थित थिए। यसैगरी, प्रमुख संरक्षक सहदेव शर्मा, आयोजक समितिका अध्यक्ष पवन परसाई लगायत अन्यहरू पनि उपस्थित थिए।
राज्यभरिबाट भर्चुअल अडिसनमा भाग लिने 70 भन्दा बढी प्रतिभागीहरू मध्ये 16 जनालाई छनोट गरिएको थियो, जसले आज सेमी-फाइनल चरणमा प्रतिस्पर्धा गरे। ती मध्ये तीन जना असाधारण प्रतिभागीहरूलाई राष्ट्रिय स्तरमा सिक्किमको प्रतिनिधित्व गर्न छनोट गरिएको छ, जसले भारतभरका साथै नेपाल र भुटानका प्रतिभागीहरूसँग प्रतिस्पर्धा गर्नेछन्।
विज्ञप्ति अनुसार, झूम इन्टरनेशनल प्रतियोगिताको अगुवाई शान्तिधाम फाउन्डेसनले गरिरहेको छ, जसले दिव्याङ्गजनहरूको समावेशीता, सशक्तिकरण र समान अवसरहरूलाई प्रवर्द्धन गर्न विगत आठ वर्षदेखि यो उल्लेखनीय प्लेटफर्म आयोजना गर्दै आएको छ।
फाउन्डेसनले सिक्किमका सबै सह-आयोजकहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङ र कृष्णकुमारी राईलाई यस्ता समावेशी पहलहरूलाई प्रोत्साहन गर्न निरन्तर समर्थन, मार्गदर्शन र नेतृत्वको लागि हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। झूम इन्टरनेशनलको ग्रान्ड फिनाले 9 नोभेम्बर, 2025 मा गान्तोकको मनन केन्द्रमा आयोजना हुनेछ।
Leave a comment


