गान्तोक, 10 नोभेम्बर नाम्ची जिल्लाको लोवर नामलुङमा एक व्यक्तिको निर्मम हत्या भएको घटना प्रकाशमा आएको छ। घटना गत 7-8 नोभेम्बर राति भएको बताइएको छ।
राभाङ्ला पुलिस अनुसार, लोवर नामलुङ निवासी पेम्पो नामग्याल भोटियाले पुलिस थानामा हत्याको सम्बन्धमा प्राथमिकी दर्ता गराएका छन्। भोटियाले उनको ठूलो दाजु 38 वर्षीय लोप्देन छिरिङ भोटियाको निर्मम हत्या भएको बताए। उनले हत्याको आरोप आफ्नै आफन्त 36 वर्षीय निमा तेन्जिङ भोटियामाथि लगाएका छन्। उनले आरोपीले आफ्नो घरको भान्साघरमा दाजुको हत्या गरेको दाबी गरेका छन्।
प्राथमिकीको आधारमा पुलिसले आरोपी व्यक्तिलाई पक्राउ गरेर भारतीय न्याय संहिता, 2023 को धारा 103(1) अन्तर्गत मामिला दर्ता गरेको छ। जॉंचको क्रममा एसएफएसएल, सरम्साबाट फोरेन्सिक विशेषज्ञहरू र गान्तोक पुलिस मुख्यालयबाट फिङ्गरप्रिन्ट टोलीका सदस्यहरूले घटनास्थलको भ्रमण गरेर महत्वपूर्ण प्रमाणहरू सङ्कलन गरेका छन्।
पुलिसले सबै आवश्यक औपचारिकताहरू पूरा गरेरपछि शव पोस्टमार्टमको लागि एसटीएनएम अस्पताल, गान्तोक पठाएको छ। यस घटनाको सम्बन्धमा जॉंच जारी रहेको बताइएको छ।
Leave a comment


