गान्तोक, 26 नोभेम्बर । सोरेङ जिल्ला पुलिसले प्रतिबन्धित नशालु पदार्थको साथमा पॉंच जनालाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिहरूको पहिचान सुकराज सुब्बा, टेक बहादुर छेत्री, कृष्ण छेत्री, धन बहादुर भण्डारी र सागर छेत्रीको रूपमा गरिएको छ।
सोरेङ जिल्लाका पुलिस अधीक्षक नहकुल प्रधानले आज प्रेस विज्ञप्तिमा जनाए अनुसार, सोधपुछको क्रममा पॉंचै जनाले प्रतिबन्धित नशालु पदार्थ प्रयोग गरेको कुरा स्वीकार गरेका छन्। उनीहरूबाट सानो मात्रामा ब्राउन शुगर पनि जफत गरिएको छ। आरोपीहरूलाई सोरेङ सामुदायिक स्वास्थ्य केन्द्रमा चिकित्सा उपचारको निम्ति लगियो, जहॉं पाँचै जनाले नशालु पदार्थ प्रयोग गरेको पुष्टि भयो।
पुलिस अधीक्षकले उनीहरूलाई डिटेन गरिएको र रम्फूस्थित पुनर्वास केन्द्रमा उपचार, परामर्श र नशामुक्तिका पठाइने जानकारी गराएका छन्। उनले नशामुक्त जिल्लाप्रति प्रतिबद्धता व्यक्त गर्दै संदिग्ध ड्रग सम्बन्धित गतिविधिहरूको बारेमा जानकारी प्रदान गर्न सहयोगको लागि आह्वान गरेका छन्। उनले लागूऔषध दुरुपयोगको खतरासँग लड्न समाजका सबै वर्गको सामूहिक र सतर्क प्रयास आवश्यक रहेको बताएका छन्।
Leave a comment


