गान्तोक, 25 जनवरी। गान्तोक जिल्ला प्रशासन केन्द्रले आज आफ्नो सम्मेलन हलमा 16औं राष्ट्रिय मतदाता दिवस 2026 पालन गऱ्यो। जिल्ला चुनाउ अधिकारीले मुख्य निवार्चन अधिकारी, सिक्किमको कार्यालयको संयुक्त तत्वावधानमा आयोजना गरेको कार्यक्रममा शहरी विकास विभागका आयुक्त एवं सचिव जितेन्द्रसिंह राजे मुख्य अतिथ थिए। राष्ट्रिय मतदाता दिवसको यस वर्षको थीम ‘मेरो भारत, मेरो मत- भारतीय लोकतन्त्रको केन्द्रमा भारतीय नागरिक’ रहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि सचिव राजेले कार्यालयमा नागरिक मैत्री सुविधाहरू सुनिश्चित गरेकोमा जिल्लापाल र उनका टोलीको सराहना गरे। उनले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको हिस्साको रूपमा विगत ५० वर्षमा सिक्किम राज्यले गरेको प्रगतिमाथि प्रकाश पार्दै समानता र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गर्ने लोकतान्त्रिक मूल्यमान्यताहरूको बारेमा बताए।
आयुक्तले विशेष गरी युवाहरूमाझ मतदानको महत्त्वमा जोड दिॅंदै भारत २०३६ सम्ममा सबैभन्दा धेरै युवा जनसंख्या भएको देश हुने सम्भावना रहेको उल्लेख गरे। उनले राष्ट्रको भविष्यलाई आकार दिन युवा मतदाताहरूलाई चुनावी प्रक्रियामा सक्रिय रूपमा भाग लिन प्रोत्साहित गरे।
जिल्लापाल एवं जिल्ला चुनाउ अधिकारी तुषार जी. निखारेले नयाँ मतदाताहरूलाई अभिवादन व्यक्त गर्दै सीईओ कार्यालय र निर्वाचन विभागका अधिकारीहरूलाई उनीहरूको सहयोगको लागि धन्यवाद दिए। उनले नयाँ मतदाताहरूलाई मतदाता फोटो परिचयपत्रको दुरुपयोग विरुद्ध सचेत गराए। उनले लोकतान्त्रिक प्रक्रिया बलियो र पारदर्शी रहेको आश्वासन दिए भने नयाँ मतदाताहरूलाई आगामी नगरपालिकाको चुनाउमा भाग लिन प्रोत्साहित गरे।
कार्यक्रममा नौ जना नयॉं मतदाताहरूलाई मतदाता फोटो परिचयपत्र प्रदान गरियो। यस अघि मुख्य सचिवले राष्ट्रिय मतदाता दिवसको उपस्थित सबैलाई शपथ दिलाएका थिए। यस अवसरमा राज्यका सबै छ जिल्लाका बूथस्तरीय अधिकारीहरूलाई सम्मानित गरियो। चुनाउ विभागकी विशेष सचिव पेमा लाडेन लामाले पनि सम्बोधन गरेकी थिइन्।
Leave a comment


