गान्तोक, 24 जुलाई। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीमा केन्द्रिय नागरिक उड्डयन मन्त्री किन्जारापु राम मोहन नायडूलाई उनको आधिकारिक निवासमा भेटे। भेटका क्रममा सांसदले पाकिम हवाई अड्डाको रनवेमुनि धस्किएको ढलान मरम्मतका लागि केन्द्रिय मन्त्री समक्ष तत्काल हस्तक्षेपको माग गर्दै ज्ञापन पत्र बुझाएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
सांसद सुब्बाले केन्द्रिय मन्त्रीलाई पाकिम हवाई अड्डाको रनवेमुनि धस्किएको ढलान स्थानीय मानिसहरूका लागि ठूलो चिन्ताको विषय बनेको जानकारी गराए। उनले स्थायी अभियान्त्रिकी समाधान विमानस्थल सञ्चालन पुनर्स्थापनाका लागि मात्र नभई वरपरको क्षेत्रको दीर्घकालीन सुरक्षा र स्थिरता सुनिश्चित गर्न पनि आवश्यक रहेको बताए।
उनले स्थायी ढलान स्थिरीकरण र पुनर्स्थापनाको लागि आवश्यक प्रारम्भिक अध्ययनहरू धेरै महिनादेखि विचाराधीन रहेको पनि अवगत गराए। उनले प्रभावित क्षेत्रको स्थिति थप बिग्रँदै गइरहेको र यसले पुनर्स्थापना कार्य अझ कठिन बन्ने बताए।
डा. सुब्बाले हाल विमानस्थलबाट कुनै पनि निर्धारित उडानहरू सञ्चालन नभएको बताए। उनले पाकिम विमानस्थल सिक्किमको एकमात्र विमानस्थल भएकाले राज्यको लागि एक महत्त्वपूर्ण जीवनरेखा बताए। उनले विमानस्थल लामो समयसम्म बन्द हुँदा पर्यटन, व्यापार, स्वास्थ्य सेवा पहुँच र राज्यको समग्र अर्थतन्त्रमा गम्भीर असर परेको अवगत गराए।
केन्द्रिय मन्त्रीले डा. सुब्बाको कुरा धैर्यपूर्वक सुनेर उनले उठाएका चिन्ताहरूलाई प्राथमिकताका साथ जाँच गरिने र पुनर्स्थापना प्रक्रियालाई सहज बनाउन मन्त्रालयले आवश्यक कदम चाल्ने आश्वासन दिए।
Leave a comment


