गान्तोक, 26 जुलाई। मुख्यमन्त्री प्रेमसिंह तामाङले कारगिल विजय दिवसको पावन अवसरमा कारगिल युद्धका ती वीर योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्, जसको असाधारण साहस, अटल दृढ़ता तथा सर्वोच्च बलिदानले हाम्रो राष्ट्रको सार्वभौमिकता र अखण्डताको रक्षा गरेको थियो।मुख्यमन्त्री सामाजिक सञ्जालमा आज जारी आफ्नो सन्देशमा भने, ‘कारगिल विजय दिवसको यस गौरवमय अवसरमा सिक्किम सरकार तथा सिक्किमवासी जनताको तर्फबाट म कारगिल युद्धका ती वीर योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, जसको असाधारण साहस, अटल दृढता तथा सर्वोच्च बलिदानले हाम्रो राष्ट्रको सार्वभौमिकता र अखण्डताको रक्षा गरेको थियो।’उनले कारगिलका अमर शहीदहरूको सम्मान गर्ने क्रममा सीमामा निरन्तर सतर्क भई अतुलनीय समर्पण र निःस्वार्थ सेवाभावका साथ राष्ट्रको सुरक्षा गरिरहेका सशस्त्र बलका ती वीर महिला तथा पुरुषहरूप्रति गहिरो कृतज्ञता व्यक्त गरेका छन्। उनले उनीहरूको साहसले प्रत्येक भारतीयलाई प्रेरणा दिन्छ र देशभक्ति तथा त्यागको वास्तविक अर्थ स्मरण गराउँछ भनेका छन्।मुख्यमन्त्रीले हाम्रा वीर सैनिकहरूको गौरवशाली विरासतले हाम्रो महान् राष्ट्रको एकता, शान्ति र सुरक्षालाई अक्षुण्ण राख्ने हाम्रो संकल्पलाई अझ सुदृढ़ बनाइरहोस् भनी कामना गरेका छन्।


