गान्तोक, 11 अगस्त। सिक्किमको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल हुने भएको छ। राज्यमा पहिलोपटक गान्तोकस्थित एसटीएनएम अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरु गरिने भएको छ।स्वास्थ्य मन्त्री जीटी ढुङ्गेलले जानकारी गराएअनुसार, मिर्गौला प्रत्यारोपण सेवाको औपचारिक उद्घाटन १५ अगस्त, २०२६ मा एसटीएनएम अस्पतालमा गरिनेछ। कार्यक्रममा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थिति रहनेछन्।मन्त्री ढुङ्गेलले मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक तयारी लगभग पूरा भइसकेको जानकारी दिए। उनले कोलकातास्थित आरएन ट्यागोर मेडिकल कलेजसँगको सहकार्यमा यो कार्यक्रम विकास गरिएको तथा विशेषज्ञ चिकित्सकहरूलाई आवश्यक तालिम प्रदान भइरहेको बताए।यस पहलमा एसटीएनएम अस्पताल, गान्तोकका प्रतिष्ठित नेफ्रोलोजिस्ट डा. अभिषेक गौतम पनि संलग्न छन्। मन्त्री ढुङ्गेलले डा. गौतमको उपलब्धिको उल्लेख गर्दै उनको उत्कृष्ट योगदानका लागि राष्ट्रपति द्रौपदी मुर्मूबाट प्रतिष्ठित स्वर्ण पदक प्रदान गरिएको जानकारी दिए।एसटीएनएम अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरु भएपछि सिक्किमका बिरामीहरूले उपचारका लागि राज्यबाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। यसले राज्यमा अत्याधुनिक तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ।मिर्गौला प्रत्यारोपण सेवा सिक्किमका योग्य बिरामीहरूका लागि निःशुल्क उपलब्ध गराउने अपेक्षा गरिएको छ। यसबाट आर्थिक रूपमा कमजोर बिरामीहरूलाई विशेष राहत पुग्ने विश्वास गरिएको छ।


