गान्तोक, 14 अगस्त। सिक्किम पुलिसका अतिरिक्त अधीक्षक सोनाम वाङ्दी भोटिया र अग्नि सेवाका एसएफओ राजेश राई प्रतिष्ठित राष्ट्रपति पदकका लागि छनोट भएका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङले अधिकारीहरूलाई बधाई दिएका छन्।मुख्यमन्त्रीले सामाजिक सञ्जाल पोस्टमा आज प्रतिष्ठित राष्ट्रपति पदकका लागि अधिकारीहरूलाई बधाई दिँदै भने, स्वतन्त्रता दिवसको अवसरमा अतिरिक्त पुलिस अधीक्षक सोनाम वाङ्दी भोटियालाई प्रतिष्ठित राष्ट्रपति पदक (प्रशंसनीय सेवा- पुलिस) र एसएफओ राजेश राईलाई राष्ट्रपति पदक (प्रशंसनीय सेवा- अग्नि सेवा) प्रदान गरिएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।उनले उक्त प्रतिष्ठित सम्मानले उनीहरूको उत्कृष्ट व्यावसायिकता, कर्तव्यप्रतिको समर्पण तथा अटल प्रतिबद्धताको सम्मान गरेको बताएका छन्। उनीहरूको अनुकरणीय सेवाले जनताको सुरक्षा तथा कल्याणप्रतिको दृढ़ प्रतिबद्धतालाई प्रतिबिम्बित गर्नुका साथै सम्पूर्ण राज्यका लागि गौरवको विषय बनेको उनले बताएका छन्।मुख्यमन्त्रीले दुवै सम्मानित व्यक्तित्वलाई सम्मान व्यक्त गर्दै आगामी दिनमा पनि यही इमानदारी, उत्कृष्टता र समर्पणका साथ आफ्नो सेवा निरन्तर अघि बढाउँदै थप सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका छन्।


