सोरेङ, 14 नोभेम्बर। नौ वर्षीया नाबालिग छोरीमाथि पटक-पटक यौन दुर्व्यवहार गरेको आरोपमा अदालतले उनका सौतेनी पितालाई ३० वर्षको कठोर कारावासको सजाय सुनाएको छ। उक्त जानकारी सोरेङ जिल्लाका वरिष्ठ पुलिस अधीक्षक नहकुल प्रधानले प्रेस विज्ञप्तिमा दिएका छन्।विज्ञप्तिका अनुसार, यस घटनाको सम्बन्धमा ३० अगस्त, २०२४ मा सोरेङ पुलिस थानामा पोक्सो अधिनियम, २०१२ को धारा ६ अन्तर्गत प्राथमिकी दर्ता गरिएको थियो। मामिलाको विस्तृत अनुसन्धान तथा प्रभावकारी अभियोजनपछि अदालतले अभियुक्तलाई दोषी ठहर गर्दै ३० वर्षको कठोर कारावाससँगै ३० हजार रुपियाँ जरिवाना पनि तोकेको छ।मामिलाको अनुसन्धान तत्कालीन उपनिरीक्षक नोर्के लाचेनपाले गरेका थिए। हाल उनी नाम्चीस्थित ग्रामीण विकास विभाग (आरएमडीडी) मा उपसचिवका रूपमा कार्यरत छन्। उनको व्यावसायिक तथा सूक्ष्म अनुसन्धानले अभियुक्तलाई दोषी ठहर गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पुलिसले जनाएको छ।यसैगरी, जिल्ला पुलिसले सरकारी अधिवक्ता भीमदल सुब्बा, सहायक सरकारी अधिवक्ता सबिता शर्मा तथा सोरेङ अभियोजन शाखाका सम्पूर्ण अधिकारी एवं कर्मचारीहरूको योगदानको प्रशंसा गरेको छ।सोरेङ जिल्ला पुलिसका वरिष्ठ पुलिस अधीक्षक नहकुल प्रधानले बालबालिका तथा महिलाविरुद्ध हुने अपराधमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै पीडितलाई न्याय दिलाउन जिल्ला पुलिस निरन्तर सक्रिय रहने बताएका छन्।


