गान्तोक, 09 मार्च । सदर पुलिसले भारी मात्रामा संदिग्ध ब्राउन शुगरसहित एक तस्करलाई पक्राउ गरेको छ। जफत गरिएको प्रतिबन्धित नशालु पदार्थको अनुमानित मूल्य लगभग 15 लाख रूपियॉं रहेको छ। एक सचेत नागरिकले साझा गरेको जानकारीको आधारमा पुलिसले कारबाही गरेर आरोपी व्यक्तिलाई पक्राउ गर्न सफल बनेको बताइएको छ।
पुलिस रिपोर्टका अनुसार, गत 7 मार्चका दिन एक सचेत नागरिकले 3 माइल, बोजोघारी क्षेत्रमा संदिग्ध ड्रग तस्करी सम्बन्धित गतिविधिबारे सूचना दिए। सूचनाको आधारमा पुलिसले कारबाही शुरू गऱ्यो र एक 19 वर्षीय मोहम्मद सदारे आलम नामक युवकलाई पक्राउ गऱ्यो। मूलरूपमा मोतीहारी, बिहार निवासी आरोपी युवक हाल रोङ्ग्येक, गान्तोक बस्दै आएका छन्।
पुलिसले आरोपीको किरायको घर छानबिन गर्दा 86 वटा प्लास्टिक पाउचहरू भेटाए, जसमा 311.62 ग्राम संदिग्ध ब्राउन शुगर थिए। जफत गरिएको उक्त प्रतिबन्धित नशालु पदार्थको अनुमानित मूल्य लगभग 15 लाख रूपियॉं रहेको बताइएको छ। पुलिसले आरोपी विरुद्ध एनडीपीएस एक्ट, 1985 अन्तर्गत मामिला दर्ता गरेर कानूनी कारबाही शुरू गरेको छ।
Leave a comment


