गान्तोक, 11 अगस्त। मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो रम्फू खेलमैदानमा आयोजित पहिलो आमा सम्मान दिवसमा दिएको भाषणप्रति एसडीएफ पार्टीले आफ्नो प्रतिक्रिया जनाएको छ। एसडीएफले विशेषगरि मुख्यमन्त्रीले आफूलाई षड़यन्त्रपूर्वक जेल पठाइयो भनी दिएको बयानप्रति कड़ा प्रतिक्रिया जनाएको छ।
एसडीएफ वरिष्ठ उपाध्यक्ष कृष्ण खरेलले यदि वर्तमान मुख्यमन्त्रीलाई फसाएर अनि षड़यन्त्र गरेर जेल पठाएको हो भने न्यायालयले त्यस्तो व्यक्तिलाई खोजेर दण्ड दिनुपर्छ भने। नत्र यसरी न्यायालयमाथि प्रश्न गर्नेलाई न्यायालयको कठघरामा उभ्याइनु पर्छ भनी उनले आज एसडीएफ मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा माग गरे। उनले न्यायालयमाथि यसरी प्रश्न खड़ा गर्नु न्यायालयको अपमान गर्नु हो र देशको संविधानमाथि अविश्वास गर्नु रहेको बताए।
उनले भ्रष्टाचारको मामिलामा दोषी ठहर भएपछि सर्वोच्च अदालतबाट पनि राहत नपाएपछि समर्पण गर्नु परेको कुरा अवगत गराए। उनले पीएस गोलेलाई विधायक र मन्त्री बनाएर के फसाएको थियो भनी प्रश्न गरे। खरेल मुख्यमन्त्रीमाथि आफ्नो विभागको धनमा धॉंधली गरेको आरोप लगाउॅंदै आज न्यायालयमाथि प्रश्न गरेर राजनीतिक रोटी सेक्ने काम गरिरहेको पनि आरोप लगाए।
यस अघि एसडीएफ प्रवक्ता योजना खालिङले भ्रष्टाचार गरेर जेल सजाय काटेर फर्किएको दिन कसरी जन उन्मुक्ति दिन हुन सक्छ भनी प्रश्न गरिन्। आमा सम्मान दिवसको नाममा आफूले गरेको गल्तीलाई ढाकछोप गर्न खोजेको पनि उनले आरोप लगाइन्।
उनले पार्टीको कार्यक्रम सरकारी खर्चमा गरिएको आरोप लगाउॅंदै यदि आमा सम्मान दिवस सरकारी कार्यक्रम थियो भने पार्टीको झण्डा लगाउनुको औचित्यमाथि प्रश्न गरिन्। यस सम्बन्धमा राज्यका मुख्य सचिव पनि जवाफदेही बन्नु पर्ने उनले बताइन्।
उनले मुख्यमन्त्रीमाथि भावनात्मक राजनीति गरेको आरोप पनि लगाइन्।
यस अतिरिक्त, उनले यदि महिलाहरूको वास्तवमा सम्मान गर्नु हो भने वर्तमान क्याबिनेट फेरबदल गरेर महिलाहरूलाई पनि मन्त्री पद दिन चुनौती दिइन्।
Leave a comment


