गान्तोक, 04 जून। उत्तर सिक्किममा गएको विनाशकारी पैह्रोपछि भारतीय सेनाले प्रतिकूल मौसम र जोखिमपूर्ण भूभागमा स्थानीय बासिन्दा र फसेका पर्यटकहरूलाई सहयोग गर्न अथक प्रयास गरिरहेको छ। यस क्षेत्रको पर्यटनको मुख्य केन्द्र लाचेन गाउँ पुग्ने सबै मार्गहरू पैह्रोका कारण अवरुद्ध बनेका छन्। यद्यपि, सेनाले गाउँमा पैदल सम्पर्क स्थापित गर्दै 113 फसेका पर्यटकहरूसॅंग सम्पर्क स्थापित गरेको छ। उनीहरूलाई चाँडै नै उद्धार गरिने आज सेनाले प्रेस विज्ञप्तिमा बताएको छ।
विज्ञप्ति अनुसार, 03 जून, 2025 मा केही विदेशी नागरिकहरू सहित 30 पर्यटकहरूलाई सैन्य हेलिकप्टरद्वारा सफलतापूर्वक उद्धार गरियो। अर्कोतिर, उत्तर सिक्किमको छातेनमा रहेको सैन्य शिविरमा पैह्रो गएपछि बेपत्ता भएका 6 जनाको खोजी कार्य जारी छ। बेपत्ता हुनेहरूमा लेफ्टिनेन्ट कर्नल प्रितपाल सिंह सन्धु, सुबेदार धर्मवीर, नाइक सुनीलाल मुचाहरी, सिपाही सैनुधीन पीके, स्क्वाड्रन लिडर आरती सन्धु (सेवानिवृत्त), लेफ्टिनेन्ट कर्नल सन्धुकी पत्नी र उनकी छोरी अमायरा सन्धु सामेल छन्।
सेनाले खोजी एवं उद्धार कार्यमा विशेष टोली र इन्जिनियरिङ उपकरणहरू तैनाथ गरेको छ। यद्यपि, अत्यन्तै खराब मौसम, अस्थिर जमिन र चुनौतीपूर्ण उच्च-उचाइको भू-भागले गर्दा जारी प्रयासहरूमा बाधा पुगेको सेनाले बताएको छ।

Leave a comment