गान्तोक, 14 अगस्त। सिक्किमका मुख्य निर्वाचन अधिकारी (सीईओ) राज कुमार यादवले जारी विशेष गहन पुनरीक्षण (एसआईआर) २०२६ अन्तर्गत सुनुवाई, दाबी तथा आपत्ति, सूचना वितरण तथा अन्तिम मतदाता नामावली प्रकाशनको समयसीमाबारे जानकारी साझा गरेका छन्। उनले एसआईआर प्रक्रियाअन्तर्गत करिब ४ लाख ७२ हजार मतदाता समेटिएको जानकारी दिए। बुथ लेभल अफिसर (बीएलओ) मार्फत घरदैलो अभियान सञ्चालन गरी गणना फाराम वितरण तथा संकलन गरिएको थियो। तीमध्ये ३७,७२४ वटा फाराम संकलन हुन बाँकी रहेका छन्।सीईओका अनुसार, हालसम्म १,२०,४२४ वटा नोटिस वितरण भइसकेका छन् भने बाँकी नोटिसहरू वितरण गर्ने प्रक्रिया जारी छ। सुनुवाई प्रक्रिया पनि अघि बढिरहेको छ र हालसम्म १,१५,७४८ वटा सुनुवाई सम्पन्न भइसकेका छन्। पछिल्लो तथ्याङ्कअनुसार, १२,९२९ जना मतदाता अन्तिम समावेशका लागि अयोग्य ठहरिएका छन् भने ५५,६६९ जना योग्य ठहरिएका छन्। त्यस्तै, १७,१७७ वटा मामिला दस्तावेज प्रमाणीकरणको प्रक्रियामा रहेका छन्।संकलन हुन नसकेका गणना फारामका सम्बन्धमा सीईओले हालसम्म फाराम-६ अन्तर्गत १,४६० वटा दाबी प्राप्त भएको जानकारी दिए। यी दाबीहरू निर्धारित दस्तावेज तथा योग्यताका मापदण्डअनुसार जाँच भइरहेको उनले बताए।सुनुवाइको प्रगतिबारे जानकारी दिँदै सीईओले तिमीनाम्फिङ, अप्पर तादोङ, गान्तोक र काबी लुङचोक गरी चारवटा विधानसभा निर्वाचन क्षेत्रमा १०० प्रतिशत सुनुवाई सम्पन्न भइसकेको बताए। बाँकी निर्वाचन क्षेत्रमा सुनुवाई जारी रहेको र सम्बन्धित ईआरओ तथा एईआरओहरूलाई बाँकी मामिलाहरू शीघ्र पूरा गर्न निर्देशन दिइएको उनले बताए। ्सीईओले जिल्ला तहमा हालसम्म ५७ वटा पहिलो अपुल प्राप्त भएको र तीमध्ये ५५ वटा हाल विचाराधीन रहेको जानकारी दिए। मतदाता नामावलीसम्बन्धी कुनै गुनासो भएका मतदाता तथा सरोकारवालाहरूलाई निर्धारित अपील प्रक्रियाको उपयोग गर्दै तोकिएको समयसीमाभित्र आवेदन दिन उनले आग्रह गरे।एसआईआर प्रक्रियाअन्तर्गत सञ्चालन गरिएका सुनुवाइहरूमा पारदर्शिता तथा उचित अभिलेख व्यवस्थापन सुनिश्चित गर्न भिडियो रेकर्डिङ तथा फोटोग्राफी गरिँदै आएको पनि सीईओले जानकारी दिए।आगामी समयसीमाबारे सीईओले बाँकी सुनुवाइहरू १६-१७ अगस्तसम्म सम्पन्न हुने अपेक्षा गरिएको बताए। त्यसपछि पुनः सुनुवाई, फाराम-६ आवेदनको जाँच, फाराम-७ को प्रक्रिया तथा बाँकी अपीलहरूको टुंगो लगाउने काम 2 सेप्टेम्बरसम्म गरिनेछ। उनले अन्तिम मतदाता नामावली प्रकाशनको तयारी 3 देखि 5 सेप्टेम्बरसम्म गरिनेछ भने अन्तिम मतदाता नामावली ६ सेप्टेम्बर, २०२६ मा प्रकाशन गर्ने तय गरिएको बताए।सीईओले अन्तिम मतदाता नामावली प्रकाशनपछि पनि निर्धारित प्रक्रियाअनुसार मतदाता नामावली निरन्तर अद्यावधिकका लागि खुल्ला रहने स्पष्ट पारे। उनले एसआईआर प्रक्रियामा संलग्न बीएलओ, एईआरओ, ईआरओ तथा अन्य अधिकारीहरूको समर्पण र प्रयासको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।


