गान्तोक, सेप्टेम्बर 2026। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको नाम्ची जिल्लास्तरीय समन्वय सभा आज पार्टीका अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भयो।
पार्टी अध्यक्ष राईले आफ्नो सम्बोधनमा पार्टीले ‘सिजनल राजनीति’ नगरी व्यवस्था परिवर्तनका लागि इमानदार राजनीति गरिरहेको कुरा संगठनका प्रत्येक सदस्यले बुझ्नुपर्ने बताए। उनले कुनै पनि राष्ट्र तथा राज्यको विकासको मेरुदण्ड इमानदारी र सुदृढ आर्थिक व्यवस्थामा निर्भर रहने बताउँदै अन्य राष्ट्र तथा निकायबाट ऋण वा आर्थिक सहयोग लिने क्रममा सम्बन्धित सहयोगी निकायहरूले आफ्नो स्वार्थसमेत जोड्ने गरेको धारणा व्यक्त गरे। उनले सिक्किमको आर्थिक अनुशासनहीनताका कारण राज्यको अर्थव्यवस्था समस्यामा परेको दाबी गरे।
अध्यक्ष राईले तृणमूल स्तरका समस्याहरू ग्राम तथा जिल्ला स्तरबाटै समाधान गर्न सकिने व्यवस्था निर्माण गर्ने सीएपीको उद्देश्य रहेको बताए। राजनीतिलाई केवल नारा लगाउने विषयका रूपमा बुझ्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउँदै उनले सीएपीले राजनीतिमा आवश्यक परिवर्तनका लागि इमानदार प्रयास गरिरहेको बताए।
आफ्नो मात्र जीवन र तत्कालीन स्वार्थलाई केन्द्रमा राखेर छोटो दृष्टिकोणबाट गरिने राजनीतिले सिक्किमलाई दीर्घकालीन रूपमा असर पार्न सक्ने बताउँदै उनले सीएपीले भावी पुस्ताको भविष्यलाई समेत ध्यानमा राखेर राजनीति गरिरहेको दाबी गरे। उनले सिक्किम र सिक्किमवासीको भविष्यका लागि पार्टीको उद्देश्यमा विश्वास गर्दै संगठनका सदस्यहरूले आफ्नो योग्यता र क्षमताअनुसार अझ सक्रिय रूपमा योगदान दिनुपर्ने आह्वान गरे।
पार्टीका नाम्ची जिल्ला अध्यक्ष स्टीफन गुरुङले आफ्नो स्वागत मन्तव्य राख्दै सभाका एजेन्डा तथा नाम्ची जिल्लामा पार्टीको संगठनात्मक उपलब्धिहरूको संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए।
Leave a comment


