
गान्तोक, २९ सेप्टेम्बर। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरको प्रमुख आतिथ्यमा प्रथम राज्यपाल आर्चरी स्वर्ण कप २०२६ (कम्पाउन्ड) प्रतियोगिताको फाइनल सम्पन्न भएको छ। राज्यस्तरीय प्रतियोगिता आज गान्तोकस्थित ताथाङचेन आर्चरी मैदानमा आयोजना गरिएको थियो।
आर्चरी संघको विशेष पहल तथा सिक्किम लोकभवनको सहयोगमा आयोजित यो प्रतियोगिता देशमै आफ्नो किसिमको पहिलो आयोजनाका रूपमा रहेको लोकभवनले जनाएको छ। प्रतियोगिता स्थानीय स्तरमा ठूलो सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको बताइएको छ।
फाइनलमा डुक्बु र ग्रीन तारा टोलीबीच प्रतिस्पर्धा भएको थियो। फाइनल हेर्न ठूलो संख्यामा खेलप्रेमी ताथाङचेन आर्चरी मैदानमा उपस्थित भएका थिए। रोमाञ्चक प्रतिस्पर्धामा ग्रीन तारा टोली विजयी बनेको छ।
समापन समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ तथा सिक्किम आर्चरी संघका अध्यक्ष एवं धर्म विभागका मन्त्री सोनाम लामाको पनि विशेष उपस्थिति रहेको थियो। साथै मन्त्रिमण्डलका सदस्य, विधायक, जनप्रतिनिधि, संघका सदस्य तथा ठूलो संख्यामा खेलप्रेमी सहभागी भएका थिए।
राज्यपाल माथुरले एक महिनासम्म सञ्चालन भएको प्रतियोगिताको सफलताको प्रशंसा गरे, जसको शुरुवात १९ प्रतिस्पर्धी टोलीको सहभागिताबाट भएको थियो। उनले यस्तो पहलले प्राचीन खेल संस्कृतिलाई जीवित राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले परम्परागत खेललाई आधुनिक प्रतिस्पर्धात्मक स्वरूपमा ढाल्नु युवाका लागि महत्वपूर्ण सेतु बन्ने बताए। यसबाट स्वदेशी पहिचानको संरक्षण हुनुका साथै स्थानीय खेलाडीले आफ्नो परम्परागत प्रतिभा स्थानीय स्तरदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म प्रस्तुत गर्ने अवसर प्राप्त गर्ने उनले बताए।
समारोहको अन्त्यमा सिक्किम लोकभवनको तर्फबाट विजेता टोलीलाई प्रोत्साहनस्वरूप पुरस्कार तथा ‘गोल्ड कप’ ट्रफी प्रदान गरियो।


