गान्तोक, 23 जनवरी। सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण ‘सुभाषचन्द्र बोस आपदा प्रबन्धन पुरस्कार 2026’ ले पुरस्कृत बनेको छ। वर्ष 2016 मा गएको मान्तम पैह्रो र 2023 मा टिस्टा नदीमा आएको बाढ़ीको समयमा उदाहरणीय प्रतिक्रियाको लागि प्राधिकरणलाई संस्थागत श्रेणीमा उक्त प्रतिष्ठित पुरस्कार प्राप्त भएको हो।
यस पुरस्कारका लागि देशभरिबाट संस्थागत र व्यक्तिगत श्रेणीमा जम्म 271 नामाङ्कन प्राप्त भएको बताइएको छ। यस पुरस्कारले प्राधिकरणको द्रुत प्रतिक्रिया र प्रभावकारी संसाधन परिचालनलाई मान्यता दिन्छ, जसले मङ्गन र पाकिम जिल्लाहरूमा 2,563 जीवन बचाउन र सम्पत्तिको हानि कम गर्न मद्दत गरेको छ।
यस पुरस्कारको स्थापना प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा गरिएको हो, जुन नेताजी सुभाचन्द्र बोसको जयन्ती, 23 जनवरीका दिन वार्षिक रूपमा घोषणा गरिन्छ। आपदा प्रबन्धनको क्षेत्रमा उल्लेखनीय योगदानका लागि यो पुरस्कार प्रदान गरिन्छ।
मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रतिष्ठित सुभाचन्द्र बोस आपदा प्रबन्धन पुरस्कार 2026 ले पुरस्कृत बनेकोमा प्राधिकरणलाई हार्दिक बधाई दिएका छन्। उनले नेताजी सुभाषचन्द्र बोसको जयन्तीमा घोषणा गरिएको यो राष्ट्रिय मान्यता सम्पूर्ण सिक्किम राज्यको लागि ठूलो गर्वको क्षण रहेको बताएका छन्। उनले यो पुरस्कार आपदाको प्रभावकारी प्रबन्धनमा सामूहिक प्रतिबद्धता, तयारी, अथाह समर्पण र लचिलोपनको बलियो प्रमाणको प्रतीक पनि रहेको बताएका छन्।
Leave a comment


