गान्तोक, 14 अगस्त। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको मङ्गन जिल्ला कार्यकारिणी परिषदको समन्वय बैठक आज जिल्ला पार्टी कार्यालय, माङसिलामा पार्टी अध्यक्ष गणेश के. राईको उपस्थितिमा सम्पन्न भयो।बैठकमा जिल्ला तथा निर्वाचन क्षेत्रस्तरमा संगठनलाई थप सुदृढ़ बनाउने, पार्टी कार्यकर्ताबीच समन्वय अभिवृद्धि गर्ने, जनसरोकार तथा निर्वाचन क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गर्ने तथा आगामी संगठनात्मक कार्यक्रमहरूको तयारी गर्ने विषयमा विशेष जोड दिइयो। कार्यक्रमका क्रममा जङ्गु निर्वाचनबाट केही नयाँ सदस्यहरू सीएपीमा सामेल भएका थिए।सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राईले जनकेन्द्रित राजनीति, संगठनात्मक अनुशासन, पारदर्शिता तथा सामूहिक जिम्मेवारीको महत्त्वमाथि जोड दिए। उनले पार्टी कार्यकर्ताहरूलाई जनतासँग निरन्तर जोडिएर रहन तथा वास्तविक जनसरोकारका विषयहरूलाई लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान गरे।मङ्गन जिल्ला नेतृत्वले जमीनी तहमा पार्टीलाई थप सुदृढ़ बनाउँदै मङ्गन जिल्ला तथा सिक्किमका जनताको अधिकार, सम्मान र विकासका लागि सामूहिक रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।


