गान्तोक, 07 फरवरी । अप्पर बुर्तुक निर्वाचन क्षेत्र अन्तर्गत रेशिथाङमा आइतवारदेखि ‘हाम्रो गाउॅंले बजार’ शुभारम्भ भइरहेको छ। राजधानी नजिक नवस्थापित हाम्रो गाउॅंले बजारको उद्घाटन भोलि मुख्यमन्त्री प्रेमसिंह तामाङले गर्नेछन्। विशेष गरी सिक्किमका ग्रामीणहरूद्वारा उत्पादित जैविक साग-सब्जीहरूको बिक्रीका लागि स्थापित यस बजारले ‘सुनौलो, समृद्ध अनि समर्थ’ सिक्किमको परिकल्पनालाई साकार बनाउने लक्ष्य लिएको छ। क्षेत्र विधायक कला राईको सक्रियतामा शुरू हुन लागिरहेको यस बजारले मानिसहरूलाई खेतीप्रति प्रोत्साहित गर्ने उद्देश्य पनि लिएको छ।
विधायक राईले आज हाम्रो गाउॅंले बजारमा आयोजित एक पत्रकार सम्मेलनमा यो बजार शुरू हुनुको श्रेय मुख्यमन्त्री प्रेमसिंह तामाङलाई दिइन्। मुख्यमन्त्रीले राज्यवासीहरूलाई सुनौलो, समृद्ध अनि समर्थ सिक्किमको नारा दिएको उल्लेख गर्दै उनले यस नारालाई कसरी साकार रूप प्रदान गर्न सकिन्छ भन्ने सोचबाट प्रेरित भएर यो बजार शुरू गर्न लागिरहेको बताइन्।
उनले यस पहलको शुभारम्भ जनवरी 2025 देखि भएको जानकारी गराउॅंदै खेती गरेर आफ्नो आजीविका चलाउने किसानहरूका लागि एउटा समर्पित ठाउॅं बनौं भन्ने सोचको परिणाम स्वरूप गाउॅंले बजार अस्तित्वमा आएको बताइन्। उनले भनिन्, ‘महिनौं खेतमा आफ्नो पसिना बगाएर उत्पादन गरेका साग-सब्जीहरू डोकोमा हाली बिक्री गर्न लाल बजार पुग्दा गाउॅंलेहरूले ठाउॅं पाउॅंदैनन्। व्यापारीहरूको दग्दी झेल्नुपर्छ। उनीहरूले सठिक मूल्य पनि पाउॅंदैनन्। डोकोभरि आकांक्षाहरू बोकेर गएका गाउॅंहरू अन्तमा सस्तो दाममा बिक्री गरेर घर फर्किन बाध्य बन्छन्।’
विधायक राईले सिक्किमका किसानहरूलाई समृद्ध अनि समर्थ बनाउन पनि यस गाउॅंले बजारको परिकल्पना गरिएको बताइन्। उनले यहॉं आफै खेती गरेर साग-सब्जी उत्पादन गर्ने गाउॅंलेहरूलाई मात्र स्थान उपलब्ध गराइने पनि स्पष्ट पारिन्। उनले शहरी क्षेत्रका मानिसहरू र व्यापारीहरूलाई यहॉं दोकान लगाउन अनुमति नदिने बताइन्। यसैगरी, उनले नाफाको लागि मात्र साग-सब्जीहरू किनेर ल्याएर यहॉं बिक्री गर्न चाहनेहरूलाई पनि ठाउॅं नदिने बताइन्।
विधायक राईले 70 प्रतिशत सिक्किम गाउॅंमा बस्छ र यदि गाउॅंलेहरूलाई आफ्नो खुट्टामा उभ्याउन सकेनौं भने मुख्यमन्त्रीले दिएको नारालाई साकार पार्न नसकिने विचार व्यक्त गरिन्। उनले अझ भनिन्, ‘यहॉं सिक्किमभरिका गाउॅंलेहरू आएर आफ्ना उत्पादहरू ब्रिकी गर्न सक्नेछन्। यसका लागि उनीहरूले नाममात्रको शुल्क भुक्तान गर्नुपर्नेछ, जसको उपयोग यहॉं आवश्यक पर्ने छ-सात जना कर्मचारीहरूको वेतनमा गरिने छ।’ यहॉं दोकान राख्न चाहनेहरूले आफ्नो भोटर कार्ड बुझाउनु पर्नेछ र सम्बन्धित गाउॅंका पञ्चायतबाट लेखाएर ल्याउनु पर्ने पनि जानकारी गराइन्।
यस अतिरिक्त, यहॉं स्थानीय कलाकारहरूलाई पनि आफ्नो प्रतीभा प्रस्तुतिका लागि मञ्च प्रदान गरिने बताइएको छ। यहॉं दिउॅंसो मात्र होइन, तर राति 10 बजीसम्म दोकान चलाउने पाइने अनुमति लिइएको छ। जैविक उत्पादहरू बिक्रीका साथै विभिन्न जातीय खानपानको आनन्द पनि उठाउन सकिने छ। विधायक राईले हाम्रो गाउॅंले बजारलाई पनि एउटा पर्यटक गन्तव्यको रूपमा स्थापित गर्न मुख्यमन्त्री समक्ष अनुरोध गरिने बताएकी छन्।
Leave a comment


