गान्तोक, 08 अप्रेल। सिटिजन एक्सन पार्टी, सिक्किमका अध्यक्ष गणेश राई र पार्टीका सदस्यहरू विरुद्ध सदर पुलिस थानामा प्राथमिकी दर्ता गरिएको छ। हिजो, सोमवार राजधानीको न्यू मार्केटमा निर्माणाधीन स्टार मलमा गैर कनुनी रूपमा प्रवेश गरेको र धम्की दिएको आरोपमा उनीहरू विरुद्ध प्राथमिकी दर्ता गरिएको छ।
पुलिस रिपोर्टमा उल्लेख गरिए अनुसार, सिच्छे निवासी कृष्ण घिमिरेले सिटिजन एक्सन पार्टीका अध्यक्ष र यस पार्टीका सदस्यहरू विरुद्ध सोमवार सदर पुलिस थानामा लिखित रूपमा प्राथमिकी दर्ता गरेका छन्। मूल रूपमा नामथाङको लोवर पाम्फोक निवासी घिमिरेले गणेश राई र पार्टीका सदस्यहरू विरुद्ध राजधानीको न्यू मार्केटमा निर्माणाधीन स्टार मलमा अचानक आएर गैर कानुनी रूपमा प्रवेश गरेको आरोप लगाएका छन्।
यस अतिरिक्त, उनीहरूले स्टार मल गैर कानुनी रूपमा निर्माण भइरहेको दाबी गर्दै गम्भीर परिणाम भोग्नु पर्ने धम्की दिएको पनि आरोप लगाइएको छ। सदर पुलिसले गणेश राई र पार्टीका सदस्यहरू विरुद्ध मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

Leave a comment