गान्तोक, 12 अक्टोबर । राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले आफ्नो स्थापनाको शताब्दी वर्ष (1925-2025) पालन गरिरहेको छ। शताब्दी वर्ष अन्तर्गत हालैमा विजय दशमीको शुभ अवसरमा संघले एक वर्षव्यापी कार्यक्रमको शुभारम्भ गरेको छ, जुन आगामी वर्ष 2026 को विजय दशमीसम्म चल्नेछ। यस अवधि संघद्वारा निर्धारित कार्यक्रमहरू देशव्यापीरूपमा आयोजना गरिने छन्।
यसै क्रममा सिक्किममा पनि संघ शताब्दी वर्ष पालन शुरू गरिएको छ। राजधानीमा आज पथ सञ्चलनको आयोजनसॅंगै वर्षव्यापी कार्यक्रमको शुभारम्भ गरिएको छ। यहॉंको जिरो पोइन्टबाट शुरू भएको पथ सञ्चलन टीएन जंकशन, एमएलए होस्टेल, पुरानो सदर थाना हुॅंदै ठाकुरबाडी मन्दिरमा आइपुगेर समापन भयो। आरएसएस गान्तोक जिल्लाले आयोजना गरेको यस पथ सञ्चलनमा गान्तोक जिल्ला स्वयंसेवकहरू गणवेशमा सहभागी बनेका थिए।
पथ सञ्चलन ठाकुरबाडी मन्दिरमा आइपुगेर एक कार्यक्रममा परिणत बन्यो। कार्यक्रममा आरएसएसको उत्तर बंग एवं सिक्किमका सह विभाग कार्यवाह विश्वरूप कुण्डू, विभाग सहकार्यवाह दयाराम भट्टराई, विभाग प्रचारक नन्दन कुमार तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
Leave a comment


