गान्तोक, 19 फरवरी । नाम्ची जिल्लाको जोरथाङ-नाम्ची मार्गमा भएको वाहन दुर्घटनामा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। मृतक व्यक्तिको नाम योहाना सुनवार बताइएको छ। 35 वर्षीय मृतक हाल कारफेक्टार, जोरथाङ बस्दै थिए।
जोरथाङ पुलिसका अनुसार, पेशाले चालक मृतक सुनवार गत 16 फरवरीका दिन यात्रीहरू लिएर गान्तोक निक्लिएका थिए। पछि, घर परिवारले सम्पर्क गर्दा उनले नाम्ची पुगेको र चॉंडै घर फर्कन्छु भनी जवाफ दिएका थिए। तर, उनी त्यो राति घर फर्किएनन्। परिवारले फोनमा सम्पर्क गर्दा पनि कुनै प्रतिक्रिया दिएनन्।
17 फरवरीका दिन अचानक उनले घरमा फोन गरेर आफु नाम्ची र दामथाङबीच जङ्गलमा दुर्घटनामा परेको जानकारी गराए। यसपछि, परिवारले घटनाको मौखिक सूचना पुलिसलाई दिए। पुलिसले पनि तत्काल कारबाही गर्दै खोजी शुरू गऱ्यो। तर, दुर्घटना स्थल पत्ता लागेन। त्यस क्षेत्रमा नेटवर्कको समस्या रहेकाले उनको लोकेशन पनि ट्रेस गर्न नसकेको बताइएको छ।
यस क्रममा 18 फरवरीका दिन एक व्यक्तिले नाम्ची पुलिसलाई फोन गरेर वाहन दुर्घटनाबारे सूचना दिए। सूचनाको आधारमा पुलिस दल घटना स्थल पुग्यो र नाम्ची जोरथाङ मार्ग अन्तर्गत 12 माइलमा वाहन सड़कदेखि लगभग एक सय फुट तल झरेको थाहा पायो। पोस्टमार्टमपछि शव परिवारलाई सुम्पिएको छ।
Leave a comment


