गान्तोक, 07 मार्च। याङगाङ टुरिज्म डेभलपमेन्ट कमिटी (वाईटीडीसी) को तत्वावधानमा आगामी 12 देखि 14 अप्रेल तीन दिवसीय याङगाङ इन्टरनेशनल युथ कन्क्लेभ फर टुरिज्म डेभलपमेन्ट आयोजना हुने भएको छ। राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा समारोह आयोजक समितिकी मुख्य संरक्षक तथा सिक्किम विधानसभाकी उपाध्याक्ष राजकुमारी थापाले उक्त जानकारी दिएकी हुन्।
उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशन र सहयोगमा राज्य स्थापनाको 50औं वर्षगाँठको अवसरमा याङगाङको हेलिप्याड परिसरमा उक्त कार्यक्रम आयोजना गरिने जानकारी गराइन्। कार्यक्रम राज्य पर्यटन तथा नागरिक उड्ड्यन विभागको समन्वयमा गरिने छ।
क्षेत्र विधायक थापाले मुख्यमन्त्रीको सुनौलो, समृद्ध र समर्थ सिक्किमको परिकल्पनालाई साकार पार्ने जिम्मेवारी हामी सबैको रहेको बताउँदै यो कार्यक्रमलाई वार्षिक रूपमा आयोजना गरिने पनि जानकारी गराइन्। उनले कार्यक्रम आयोजन गर्नुको मुख्य उद्देश्य स्थानीय अवसरहरूलाई प्रवर्धन गर्नु र पर्यटनलाई विकास गरेर लैजान रहेको बताइन्।
उनले यस तीन दिवसीय समारोहमा इरान, भुटान र नेपाल लगायत भारतका 17 वटा राज्यका गरी कुल 176 जना प्रतिनिधिहरू उपस्थित रहने थप जानकारी गराइन्। विविध साहसिक कार्यक्रमहरू जस्तै रक क्लाइम्बिङ, साइक्लिङ र प्याराग्लाइडिङ लगायत प्यानल डिस्कसन कार्यक्रमको प्रमुख आकर्षण रहने उनले अवगत गराइन्।
कार्यक्रमको उद्घाटन मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष उपस्थितिमा गरिने उनले जानकारी गराइन्। उनले पर्यटन व्यावसायलाई अवलम्बन गरी आत्मनिर्भर बन्न सहयोग पुऱ्याउन पनि सरकारको समन्वयमा यो कार्यक्रम आयोजना भइरहेको उनले जनाइन्। शिक्षित युवाहरूको निम्ति यो कार्यक्रम लाभदायी बन्ने विश्वास व्यक्त गर्दै उनले सहभागीहरूलाई क्षेत्रका विविध पर्यटकीय स्थलहरूको भ्रमण पनि गराइने बताइन्। उनले सबैलाई यस कार्यक्रममा सहभागी भइदिन आह्वान पनि गरेकी छन्।

Leave a comment