
गान्तोक, 5 दिसम्बर। राज्यस्तरीय एसकेएम नारी शक्तिले आज जोरथाङको कम्युनिटी हलमा नवनियुक्त नारी शक्ति कार्यकारिणीहरूको सम्मान तथा परिचयात्मक कार्यक्रम आयोजन गर्यो। कार्यक्रममा राज्यका सबै जिल्लाबाट नारी प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।
कार्यक्रममा नवनियुक्त नारी कार्यकारिणीहरूको औपचारिक परिचयसंगै उनीहरूलाई सम्मान जनाइयो। यसपछि सबै सदस्यहरूले शपथ ग्रहण समारोह मार्फत जिम्मेवारी, अनुशासन र पार्टी मूल्यप्रति निष्ठा प्रकट गरे।
एसकेएम नारी उपाध्यक्ष प्रभारी छिरिङ पाल्देन भोटियाले नारी शक्तिको भूमिका, जिम्मेवारी र अनुशासनको बारेमा सम्बोधन राखिन्। उनले आफ्नो व्यक्तिगत स्वार्थलाई एकातिर राखेर संगठनमा टिम-वर्कमा जोड दिइन्। उनले महिला सशक्तिकरण र सिक्किमको विकासमा मुख्यमन्त्रीको पहलको सराहना गरिन्।
मुख्यमन्त्रीका राजनीतिक सचिव एवं प्रवक्ता जेकब खालिङले नेतृत्वको दृष्टिकोण, पार्टीका नीतिहरू र जनमतलाई आकार दिन नारी शक्तिको भूमिकामाथि प्रकाश पारे। उनले भने, आजको सामाजिक सञ्जाल र द्रुत सञ्चारको युगमा महिलाहरूको आवाजले ठूलो विश्वसनीयता बोकेको छ भने यसलाई सत्य, जिम्मेवारी र एसकेएम सरकारका उपलब्धिहरू प्रवर्द्धन गर्न प्रयोग गरिनु भनी बताए। उनले विपक्षीहरूको नेरेटिवलाई पनि कडा जवाफ दिन जोड दिॅंदै भने, विपक्षीहरू चुनावी राजनीतिमा खोक्रो छन् र केवल झूटा नेरेटिव निर्माणमा सीमित छन्। हामी सबैले विपक्षीहरूको यस्ता प्रचारको उचित जवाफ दिन आवश्यक छ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्रीका राजनीतिक सचिव तथा प्रवक्ता बिकाश बस्नेतले युवाशक्ति र नारी शक्तिबीच समन्वय, संचार र एकताको आवश्यकतामि जोड दिए। उनले भने, जब युवाको ऊर्जा र महिलाको समर्पण एकजुट हुन्छ, तब पार्टीको संगठनात्मक शक्ति अझ प्रभावकारी तथा शक्तिशाली बन्छ। उनले नारी तथा युवा कार्यकर्ताहरूलाई सरकारका कार्यक्रम र उपलब्धिहरूलाई तृणमूलस्तरसम्म पुर्याउन सक्रिय भूमिका निभाउन अनुरोध गरे।
कार्यक्रमका मुख्य अतिथि तथा एसकेएमका महासचिव अरुण उप्रेतीले आफ्नो समापन सम्बोधनमा नारी नेतृहरूको समर्पणको कदर गर्दै र एसकेएमको प्रशासनले राज्यका महिलाहरूको कल्याणका लागि गरेका परिवर्तनकारी पहलहरूमाथि प्रकाश पारे।
कार्यक्रममा मुख्यमन्त्री तथा पार्टी अध्यक्ष प्रेमसिंह तामाङको सन्देश एसकेएम नारी अध्यक्ष बीना राईले पढेर सुनाएकी थिइन्। कार्यक्रमलाई एसकेएम नारी शक्तिका अन्य नेतृहरूले पनि सम्बोधन गरेका थिए।


