गान्तोक, 21 फरवरी । राज्य जन स्वास्थ्य अभियान्त्रिकी (पीएचई) विभागका सचिव शैलेन्द्र शर्माले गान्तोकका लागि जलापूर्तिको मुख्य स्रोत राते-चुमा गत वर्षको तुलनामा पानीको बहावमा उल्लेखनीय कमी आएको कुरा दोहोऱ्याएका छन्। भाजपा सिक्किमको एक टोलीले केही दिन अघि राते-चुको भ्रमण गरेर स्रोतमा पानीको अभाव नरहेको दाबी गर्दै राजधानीमा जल संकटको लागि विभागको लापरवाही जिम्मेवार रहेको आरोप लगाएको थियो।
सचिव शर्माले आज आयोजित एक पत्रकार सम्मेलनमा प्राविधिक पक्ष लगायत पानीको अभाव हुनुका अन्य पत्रहरूमाथि प्रकाश पारे। उनले गत वर्षको तुलनामा यस वर्ष राते-चुमा पानीको बहावमा व्यापक अभाव देखिएको बताउॅंदै पर्यावरणीय नियमहरूका कारण विभागले नदीको सम्पूर्ण स्रोत उपयोग गर्न नसक्ने बताए। प्राविधिक पक्षबारे जानकारी दिँदै सचिवले भने, उकाली-ओराली तथा असमतल भू-भागका कारण पाइपलाइनको ढलान समान रूपमा कायम गर्न सकिॅंदैन, जसका कारण प्रणालीभित्र टर्बुलेन्स उत्पन्न हुन्छ। उनले वितरण सञ्जालका विभिन्न स्थानमा दबाउ नियमन संयन्त्र जडान गरिएको र ‘प्रेसर रिलिजिङ सिस्टम’ लाई गलत रूपमा चुहावटका रूपमा बुझिएको स्पष्ट पारे।
मर्मतसम्भारसम्बन्धी चुनौतीबारे बोल्दै सचिवले विभिन्न उचाइमा जडान तथा आपसमा जोडिएका पाइपलाइनहरूका कारण स्थायी समाधानका लागि १२ देखि १८ घण्टासम्म आपूर्ति पूर्ण रूपमा बन्द गर्नुपर्ने बताए। तर सुक्खा मौसममा यसरी आपूर्ति पूर्ण रूपमा बन्द गर्दा उपभोक्तामा गम्भीर असर पर्ने उनले बताए। उनले साना चुहावट व्यवस्थापन गर्न दैनिक प्लगिङ तथा नियमित अनुगमन गरिँदै आएको पनि जानकारी दिए।
सचिवले पानीको सही तथा विवेकपूर्ण प्रयोगमा देखाएको सहयोगप्रति उपभोक्ताहरूप्रति आभार व्यक्त गरे। उनले भुसुक खोलालाई वैकल्पिक पानीको स्रोतका रूपमा पहिचान गरिएको जानकारी दिए। यसको पर्याप्तता, दिगोपन तथा पिउन योग्यताबारे मूल्यांकन गर्न कम्तीमा तीन वर्ष आवश्यक पर्ने र त्यसपछि मात्र विस्तृत परियोजना प्रतिवेदन अन्तिम गरिने उनले बताए।
उनले २०२०-२१ देखि सर्वेक्षण कार्य जारी रहेको र डीपीआरलाई एशियन डेभलपमेन्ट ब्याङ्कले स्वीकृति दिएको जानकारी गराए। उनले स्वीकृति प्राप्त भएपछि परियोजना टेन्डर आह्वान तथा कार्यान्वयन चरणमा प्रवेश गर्ने बताए। सचिवले हाल घरेलु प्रयोजनका लागि पानी उपलब्ध रहेको बताउॅंदै सर्वसाधारणलाई जिम्मेवार र सचेत उपभोग गर्न आग्रह पनि गरे।
Leave a comment


