गान्तोक, 21 सेप्टेम्बर। भारतीय जनता युवा मोर्चा (बीजेवाईएम) ले आज नाम्चीमा ‘नमो युवा रन’ आयोजन गऱ्यो। यस कार्यक्रममा राज्यभरिबाट 480 भन्दा धेरै धावकहरू सहभागी बने। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टिबाट प्रेरित सेवा, समर्पण र युवा शक्तिको मूल्यहरूको सम्झना गर्दै सेवा पखवाडाको एक भागको रूपमा दौड आयोजना गरिएको बीजेवाईएमले आज विज्ञप्तिमा बताएको छ।
‘युवा शक्ति, राष्ट्र शक्ति- नशामुक्त भारत, नशामुक्त सिक्किम’ को भावनाका साथ आयोजित नमो युवा रनले राज्यका चारैतिरबाट युवाहरूलाई एउटा मञ्चमा ल्याएको थियो भने युवाहरूले इतिहास रच्ने आफ्नो सामूहिक शक्ति र दृढ संकल्प प्रदर्शित गरे।
यस भव्य कार्यक्रमको सफल आयोजनाले राष्ट्र निर्माणमा युवाहरूलाई संलग्न गराउने आफ्नो अभियानलाई निरन्तरता दिने बीजेवाईएम सिक्किमको संकल्पलाई अझ बलियो बनाएको बताइएको छ। बीजेवाईएमले सबै प्रतिभागीहरू, स्वयंसेवकहरू र समर्थकहरूप्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ।
कार्यक्रममा भाजपा सिक्किमका उपाध्यक्ष दिनेश नेपाल, महासचिव अर्जुन राई, पाकिम जिल्ला अध्यक्ष प्रेम छेत्री तथा पार्टीका अन्य पदाधिकारीहरू पनि उपस्थित थिए।

Leave a comment