गान्तोक, 22 जनवरी । भारतीय जनता पार्टी (भाजपा) सिक्किम राज्य महासचिव अर्जुन राईले बुधवार नयाँ दिल्लीमा केन्द्रिय युवा मामिला तथा खेलकुद मन्त्री डा. मनसुख मण्डावियासँग भेट गरे। उनले केन्द्रिय मन्त्री समक्ष सिक्किममा राष्ट्रिय खेलकुद विश्वविद्यालय र भारतीय खेलकुद प्राधिकरण (साई) केन्द्रहरू स्थापना गर्न आह्वान गरेका छन्।
भाजपा सिक्किम महासचिव अर्जुन राईले केन्द्रिय मन्त्री मण्डावियालाई सिक्किम र अन्य पूर्वोत्तर राज्यहरूमा खेलकुद विकासको लागि अपार अवसर र सम्भावना रहेको बताए। उनले यस क्षेत्रका प्रतिभाशाली युवाहरू र एथलेटिक उत्कृष्टतालाई बढावा दिनको लागि पूर्वाधारको आवश्यकतामाथि प्रकाश पारे।
उनले खेलकुद विज्ञानमा विशेष शिक्षा, प्रशिक्षण र अनुसन्धान प्रदान गर्न सिक्किममा समर्पित राष्ट्रिय खेलकुद विश्वविद्यालय स्थापना गर्न माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र बुझाए। यसैगरी, उनले सिक्किमको प्रत्येक जिल्लामा साई केन्द्रहरू स्थापना गर्न पनि आग्रह गरे। यी सुविधाहरूले तृणमूल स्तरमा खेलकुदलाई प्रवर्द्धन गर्नुका साथै युवाहरूलाई रचनात्मक रूपमा संलग्न गर्ने र लागूपदार्थको दुरुपयोग जस्ता कार्यहरूबाट जोगाउने उनले भनी बताए।
केन्द्रिय मन्त्री डा. मण्डावियाले महासचिव राईका कुराहरू ध्यानपूर्वक सुनेपछि सिक्किम र पूर्वोत्तरमा खेलकुद पूर्वाधारको विकासका लागि विचार गर्ने आश्वासन दिएको विज्ञप्तिमा उल्लेख छ।
Leave a comment


