गेजिङ, 13 मार्च। योक्सममा नव पुनर्निर्मित थाक्टोक गुम्बाको उद्घाटन आज धर्म मामिला विभागका मन्त्री सोनाम लामाले परमपावन टुल्कू सेर्ता खेयन्त्से रिम्पोछेको उपस्थितिमा गरे। यस अवसरमा जिल्ला अध्यक्ष डीएस लिम्बू, धर्म मामिला विभागकी सचिव यिस्से डी. योङ्दा, जिल्लापाल तेन्जिङ डी. डेन्जोङपा तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
सिक्किमका प्रथम राजाको शासनकालमा लगभग 1600 मा निर्माण गरिएको थाक्टोक गुम्बा धेरै वर्षदेखि जीर्ण अवस्थामा थियो। मन्त्री तथा क्षेत्र विधायक छिरिङ टी. भोटियाको हस्तक्षेपमा तथा गेजिङ जिल्ला प्रशासन र सिक्किम सरकारको सहयोगमा पुनर्स्थापना कार्य सफलतापूर्वक सम्पन्न भएको छ। गेजिङ जिल्ला प्रशासनको सहकार्यमा योक्सम थाक्टोक गुम्पा समितिले नवीकरण परियोजनाको समन्वय गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनाम लामाले जिल्लाको समग्र विकासमा गेजिङ जिल्ला प्रशासनले गरेको प्रयासको प्रशंसा गरे। उनले यस क्षेत्रमा पर्यटनलाई बढाउन सांस्कृतिक र सम्पदा स्थलहरूको संरक्षणको महत्त्वमा जोड दिए। उनले यस क्षेत्रमा आध्यात्मिक मूल्य राख्ने गुम्बा नजिकै रहेको ऐतिहासिक गुफाको पुनर्निर्माणको लागि सहयोगको घोषणा गरे।
कार्यक्रमको क्रममा योक्सम थाक्टोक गुम्पा समितिले पुनर्स्थापना परियोजनामा योगदान पुर्याएकोमा गेजिङका जिल्लापाल तेन्जिङ डी. डेन्जोङपासहित विभिन्न व्यक्ति र संस्थाहरूलाई सम्मान जनायो। भूमि दाताहरूलाई मन्त्रीले उनीहरूको बहुमूल्य सहयोगको लागि सम्मान गरे।
यसअघि जिल्लापाल डेन्जोङपाले जिल्ला प्रशासनले जिल्लाको विकास र पर्यटन प्रवर्द्धन गर्न गरेका विभिन्न पहलहरूको जानकारी गराएका थिए। उनले मनरेगा योजनाको सहयोगमा गुम्पालाई मुख्य सडकसॅंग जोड्ने फुटपाथ निर्माणलाई तीव्रता दिन योक्समका बीडीओलाई निर्देश दिए।