गान्तोक, 26 जून। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज बिहान रूम्तेक गुम्पाको धर्मचक्र केन्द्रमा आयोजित 17औं ग्यालवा कर्मापा उगेन थिन्ले दोर्जीको 40औं जन्मदिन समारोहमा सहभागी बने। यस अवसरमा क्याब्जे जुर्माङ घरवाङ रिम्पोछेको पनि विशेष उपस्थिति रहेको थियो।
मुख्यमन्त्रीले सिक्किमका जनताको तर्फबाट कर्मापाको निरन्तर सुस्वास्थ्य, दीर्घायु र प्रबुद्ध गतिविधिहरूको लागि प्रार्थना गर्दै उहॉंको करुणा र बुद्धिले विश्वभरका लाखौं मानिसहरूलाई प्रेरणा दिइरहेको आज सामाजिक सञ्जालमा जनाएका छन्।
मुख्यमन्त्री तामाङ यस अवसरमा आयोजित पवित्र साङ पूजामा पनि सहभागी बने, जसको अध्यक्षता परमपावन कर्मापाले भर्चुअल माध्यमद्वारा गरेका थिए। अनलाइन माध्यमबाट पनि यस आध्यात्मिक अनुष्ठानमा भाग लिनु एक गहिरो भावनात्मक अनुभव थियो भनी उनले उल्लेख गरेका छन्।
परमपावनले धर्मको मार्गलाई उज्यालो बनाइरहुन् र संवेदनशील प्राणीहरूलाई आफ्नो असीम करुणा र बुद्धिले मार्गदर्शन प्रदान गरिरहुन् भनी मुख्यमन्त्रीले कामना गरेका छन्।

Leave a comment