गान्तोक, 10 मार्च । सिङताम पुलिस थाना क्षेत्र अन्तर्गत रानी खोलामा डूबेर एक 14 वर्षीय नाबालिग केटाको मृत्यु भएको छ। मूल रूपमा सोरेङ जिल्लाको गुरॉंसे, परेङ गाउॅं निवासी नाबालिग हाल शान्तिनगर, सिङताममा बस्दै आएका थिए। नाबालिग सोमवार बिहानदेखि बेपत्ता भएका थिए भने खोज तथा उद्धार टोलीले रानी खोलाबाट नाबालिगको शव फेला पारेको छ।
सिङताम पुलिस थानाका एसएचओ किशोर कुमार छेत्रीले जानकारी गराए अनुसार, पुलिसलाई सोमवार राति लगभग 7:30 बजी नाबालिग बिहानदेखि हराएको मौखिक सूचना प्राप्त भयो। सूचना पाउनसाथ सिङताम पुलिसले शान्तिनगर र रानी खोलाका किनारतिर खोजी अभियान शुरू गऱ्यो। यस क्रममा सिङताम पुलिस थाना र अग्निशमन कर्मीहरू र स्थानीय स्वयंसेवकहरूको एक खोज एवं उद्धार टोली गठन गरियो। टोलीले रानी खोलाको किनारमा व्यापक खोजी अभियान चलायो।
टोलीले नदी किनारमा खेलिरहेका बालबालिकाहरूसॅंग सोधपुछ गर्दा बेपत्ता बनेका नाबालिगलाई दिउॅंसो एक्लै पौडी खेलिरहेको देखिएको कुरा थाहा लाग्यो। यसपछि, टोलीले नदीको एउटा पोखरी छेवैमा नाबालिगको एक जोडी चप्पल फेला पाऱ्यो। उपलब्ध जानकारीका आधारमा सिङताम थानाका एसए कुशल छेत्री लगायत स्थानीय तैराकहरू पोखरीमा पसेर खोजी कार्य शुरू गरे। यस क्रममा उद्धार टोलीले पोखरीमा लगभग 10 फुट मुनि नाबालिगको शव फेला पाऱ्यो।
नाबालिगलाई तत्काल सिङताम जिल्ला अस्पताल लगियो, तर चिकित्सा अधिकारीले उनलाई मृत घोषित गरे। खोज एवं उद्धार टोलीको द्रुत कारबाहीले छोटो अवधिमै हराएको बच्चाको शव फेला पर्यो। सिङताम पुलिसले शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै जन साधारणलाई नदी र जलाशय वरपर, विशेष गरी नाबालिगहरूलाई लिएर सतर्क रहन अपील गरेको छ।
Leave a comment


