गान्तोक, 24 मई। वरिष्ठ पत्रकार अम्बर गुरुङलाई ‘राम पात्रो मेमोरियल अवार्ड फर् एक्सिलेन्स इन् जर्नलिज्म 2025-26’ ले अभिनन्दित गरिएको छ। यहॉंको देवरालीमा आज आयोजित राम पात्रो स्मारक पुरस्कार समारोहमा पत्रकार गुरुङलाई उक्त पुरस्कारले अभिनन्दित गरिएको हो।
राम पात्रो स्मारक पुरस्कार समितिले आज राजधानीको देवरालीमा राम पात्रो स्मारक पुरस्कार समारोह आयोजन गऱ्यो। समारोहमा सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा मुख्य अतिथि तथा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङ्चुक लेप्चा विशिष्ट अतिथि थिए। यस अवसरमा पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याउॅंदै आएका वरिष्ठ पत्रकारहरूलाई अभिनन्दित गरियो।
यस क्रममा नेपाली दैनिक हिमालय दर्पण सिक्किमका ब्यूरो प्रमुख वरिष्ठ पत्रकार अम्बर गुरुङलाई ‘राम पात्रो मेमोरियल अवार्ड फर् एक्सिलेन्स इन् जर्नलिज्म 2025-26’ ले अभिनन्दित गरियो। यसैगरी, वरिष्ठ सारिका आत्रेयलाई सिक्किम एक्सप्रेस र हिमाली बेलामा उत्कृष्ट पुरस्कार पुरस्कारले अभिनन्दित गरियो। समारोहमा सिक्किम एक्सप्रेसका लेआउट डिजाइनर टेक बहादुर गुरुङलाई प्रतिष्ठानप्रति समर्पित सेवाका लागि तथा सिक्किम सरकारका पूर्व मुख्य सचिव अरविन्द श्रीवास्तवलाई सिक्किम एक्सप्रेसमा साहित्यिक योगदानका लागि सम्मानित गरियो।
मुख्य अतिथि उपाध्यक्ष थापाले आफ्नो सम्बोधनमा विगत 21 वर्षदेखि निरन्तर पुरस्कार प्रदान गरिॅंदै आएकोमा खुशी व्यक्त गर्दै यतिका वर्षसम्म पुरस्कारलाई निरन्तरता दिनु सहज कुरा नरहेको बताइन्। उनले यो क्रम आगामी वर्षहरूमा पनि जारी रहने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरिन्।
सोशल मिडियाले निम्त्याएका चुनौतीहरूमाथि बोल्दै उपाध्यक्ष थापाले पत्रकारिताप्रति मानिसहरूको विश्वसनियतालाई कायम राख्नका लागि पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताइन्। उनले सत्यमा अडिग बस्नुको आवश्यकतामा जोड दिॅंदै यसको परिणाम निश्चित रूपमा सकारात्मक हुने बताइन्।
समारोहलाई अम्बर गुरुङ पत्रकार, सारिका आत्रेय र पूर्व मुख्य सचिव अरविन्द श्रीवास्तवले पनि सम्बोधन गरेका थिए।
Leave a comment


