गान्तोक, 09 फरवरी। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको युवा समन्वय सभा आज पार्टीका अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भयो। मल्लीमा आयोजित उक्त सभामा विभिन्न राजनीतिक दल त्यागेर 55 जना सीएपीमा सामेल भएको दाबी गरिएको छ।
आफ्नो अध्यक्षीय सम्बोधनमा सीएपी अध्यक्ष गणेश राईले जनताका सामूहिक मुद्दालाई नेतृत्व दिन सिटिजन एक्सन पार्टी सिक्किम पूर्ण रूपमा तयार रहेको बताए। लोकतन्त्रमा जनता सर्वोपरी हुने भएकाले जनइच्छाविपरीत आम नागरिकलाई प्रताडित गर्दै सत्तामा टिकिरहने एसकेएमको प्रयास सफल नहुने उनले दाबी गरे।
सिक्किमको इतिहास स्मरण गर्दै उनले विश्वका धेरै देशहरू उपनिवेशवादको चपेटामा परेको बेला सिक्किमजस्तो सानो देश स्वतन्त्र र सार्वभौम रहेको उल्लेख गरे। तर, आजको अवस्थामा नेतृत्वले राज्यका सम्पत्ति बेच्दै ऋणको पहाड़ खडा गरेको र राज्यलाई आत्मसमर्पणको अवस्थामा पुर्याएको उनले गम्भीर आरोप लगाए।
सभामा राज्यका सबै जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी ५५ जना सीएपी सिक्किममा औपचारिक रूपमा सामेल भएको बताइएको छ। पार्टीमा आबद्ध भएपछि सोनाम वाङ्गेल भोटिया (भाइचुङ), योगेश खतिवडा, रमेश दाहाल र उगेन छिरिङ भोटियाले सत्तामा व्याप्त अनियमितता, दुरुपयोग र भ्रष्टाचारलाई सिक्किमे भएको नाताले स्वीकार गर्न नसकेको तथा सबै सुविधाहरू त्यागेर सीएपीमा सामेल भएको बताए।
सभामा वर्तमान सिक्किमको राजनीतिक परिवेश, कथित आर्थिक अनियमितता र भाई–भतिजावाद तथा प्रशासनिक कमजोरीका विषयमा पार्टीका नेताहरूले गहिरो चिन्ता व्यक्त गर्दै आ–आफ्नो धारणा राखेको बताइएको छ।
Leave a comment


