
गान्तोक, 25 नोभेम्बर। मुख्यमन्त्री प्रेमसिंह तामाङले वर्तमान राज्य सरकार सिक्किमको पत्रकारिता क्षेत्रलाई शक्तिशाली बनाउन चाहन्छ भनी बताएका छन्। मुख्यमन्त्री आज राजधानीको मनन केन्द्रमा आयोजित ‘राष्ट्रिय प्रेस दिवस’ समारोहलाई सम्बोधन गर्दै थिए।
राज्य सूचना एवं जनसम्पर्क (आईपीआर) विभागले आयोजना गरेको समारोहमा मुख्यमन्त्रीले आज अभिनन्दित सबै पत्रकारहरूलाई बधाई दिए। वर्तमान सरकारले सिक्किम र सिक्किमका जनताको पक्षमा इमानदारीका साथ काम गरिरहेको बताउॅंदै सरकारले कसैसॅंग डराउनु पर्ने कुनै आवश्यकता नरहेको उनले बताए। यसै कारण पनि सरकार राज्यमा पत्रकारिता क्षेत्रलाई शक्तिशाली बनाउन चाहन्छ भनी उनले बताए।
मुख्यमन्त्री अनुसार, सरकार राज्यवासीहरूप्रति इमानदार छैन भने प्रेस आफूहरूमाथि हावी बन्ने डरका कारण प्रेसलाई शक्तिशाली बन्न दिॅंदैन। तर, वर्तमान सरकारले पारदर्शी ढङ्गमा काम गरिरहेकाले प्रेससॅंग डराउनु पर्ने स्थिति छैन। यस क्रममा उनले राज्यका युवा पत्रकारहरूको ध्यान आकर्षित गर्दै पूर्व अनि वर्तमान सरकारमा पत्रकारिता र पत्रकारहरूको अवस्थामाथि प्रकाश पारे।
मुख्यमन्त्रीले एसडीएफ सरकारको 25 वर्षे कार्यकालमा पत्रकारहरूमाथि भएका आक्रमणका घटनाहरू र प्रेस स्वतन्त्रतालाई दबाउन गरिएका कार्यहरूबारे अवगत गराए। उनले 2019 मा एसकेएम पार्टीले सरकार गठन गरेपछि पत्रकारहरूको विकास र पत्रकारिता क्षेत्रको उत्थानका लागि गरिएका विभिन्न पहलहरूको बारेमा पुन: स्मरण गराए। उनले वर्तमानमा पत्रकारहरू डराउनु पर्ने स्थिति नरहेको र स्वतन्त्र रूपमा काम गर्न पाइरहेको दाबी गरे।
मुख्यमन्त्रीले 21औं शताब्दीमा पत्रकारिताको क्षेत्रका चुनौतीहरूमाथि बोल्दै वर्तमानमा सोशल मिडिया हावी बने तापनि विश्वसनीयताको सन्दर्भमा प्रिन्ट मिडिया अझै पनि सञ्चारको विश्वसनीय माध्यम रहेको मनतव्य व्यक्त गरे। उनले प्रविधिको विकाससॅंगै मिडिया जगतको निम्ति विश्वसनीयता ठूलो चुनौती बनेको बताए। उनले आगामी वर्षदेखि सामाजिक सञ्जालको माध्यमद्वारा सकारात्मक योगदान दिने व्यक्तिहरूलाई पनि प्रोत्साहन स्वरूप आर्थिक सहायता प्रदान गर्ने घोषणा गरे।
समारोहमा आईपीआर विभाग अन्तर्गत छवटै जिल्लामा कार्यरत विभागीय अधिकारीहरूलाई मुख्यमन्त्रीको बाहुलीद्वारा सम्मानित गरियो। सम्मानित बन्नेहरूमा बोनु बी. राई, सेमी सुब्बा, अर्पण गुरुङ, पेमा नामग्याल भोटिया, नरेन्द्र बराइली र तेन्जिङ वाङ्चुग भोटिया सामेल छन्। यस अतिरिक्त, साम्डुप दोर्जी भोटियालाई उल्लेखनीय समर्पणका लागि सम्मानित गरियो।
यस अवसरमा एआई र डिजिटल मार्केटिङको क्षेत्रमा अग्रणी प्रशिक्षक सौरभ जैनले एआईको बढ्दो महत्व र डिजिटल युगमा फेक न्यूजको चुनौती र फेक न्यूज पत्ता लगाउने माध्यमहरूको बारेमा जानकारी गराएका थिए। यसैगरी, बढ्दो गलत जानकारीका बीच प्रेस विश्वसनीयताको सुरक्षा विषयमा एक प्यानल चर्चा पनि आयोजन गरियो। दिवाकर बस्नेतले सञ्चालन गरेको यस कार्यक्रममा प्रियांसी शर्मा र वेदान्त अग्रवाल स्रोत वक्ता थिए।
समारोहमा मुख्यमन्त्रीको बाहुलीद्वारा प्रेस क्लब अफ् सिक्किमलाई पॉंच लाख रूपियॉंको वार्षिक अनुदानको चेक र पत्रकार सम्मान योजना अन्तर्गत 20 लाख रूपियॉंको चेक पनि हस्तान्तरण गरियो। कार्यक्रमलाई आईपीआर विभागका अध्यक्ष असित राई र सचिव अन्नपूर्ण आले पनि पनि सम्बोधन गरेका थिए। यस अवसरमा आईपीआर विभाग र संस्कृति विभागका कलाकारहरू गीत र नृत्य पनि प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरे।


