
गान्तोक, 09 अगस्त। सिक्किम फुटबल संघको आयोजनामा यहाँको पाल्जोर स्टेडियममा जारी ८०औँ स्वतन्त्रता दिवस सर छोग्याल टाशी नामग्याल मेमोरियल कप २०२६ अन्तर्गत आज सम्पन्न तेस्रो खेलमा सन्त जोसेफ्स कलेजले जर्जियन फुटबल क्लबलाई २-० गोलले पराजित गरेको छ।सन्त जोसेफ्स कलेजको जितमा दलका खेलाडी सेन्चे भोटियाले उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक भूमिका निर्वाह गरे। उनले खेलको ५८औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ६५औँ मिनेटमा दोस्रो गोल गर्दै आफ्नो शानदार डबल गोल पूरा गरे।उत्कृष्ट प्रदर्शन तथा टोलीको जितमा महत्वपूर्ण योगदानका लागि सेन्चे भोटियालाई ‘म्यान अफ द म्याच’ घोषित गरियो।यस अवसरमा सिक्किम फुटबल संघका पदाधिकारीहरूका साथै सिस्को ब्याङ्कका उपाध्यक्ष सुदीप प्रधान र सन्त जोसेफ्स् कलेजका प्रिन्सिपल डा. डोनाटस कुजुरलगायत अन्यहरू पनि उपस्थित थिए।


