गान्तोक, 13 फरवरी। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले केन्द्रिय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवसँग संसद भवनस्थित कार्यालयमा भेट गरी वन क्षेत्र वरिपरि बसोबास गर्ने मानिसहरूको आजीविकासम्बन्धी महत्वपूर्ण विषयमा तत्काल हस्तक्षेपको माग गर्दै विस्तृत ज्ञापनपत्र बुझाएका छन्। उक्त जानकारी आज जारी एक प्रेस विज्ञप्तिमा दिइएको छ।यस भेटका क्रममा डा. सुब्बाले सिक्किमका संरक्षित वन क्षेत्रसँग सिमाना जोडिएका गाउँहरूमा बढ्दो मानव-वन्यजन्तु द्वन्द्वको विषय उठाए। उनले बाली नोक्सानी र मानव सुरक्षामाथि बढ्दो जोखिमका घटनाले ग्रामीण जनजीवनमा गम्भीर असर पारेको तथा धेरै क्षेत्रमा सक्रिय खेतीपाती घट्दै गएको उल्लेख गरे।उनले मन्त्रालयलाई सिक्किमका लागि विशेष कार्यक्रम ल्याउन आग्रह पनि गरे, जसमा वैज्ञानिक न्यूनीकरण उपायहरू, सुदृढ़ र प्रभावकारी क्षतिपूर्ति संयन्त्र, सुरक्षात्मक पूर्वाधार तथा समुदायमा आधारित संरक्षण पहलहरू समावेश गरिनुपर्नेमा जोड दिए। यसबाट किसानको हित र वन्यजन्तुको संरक्षण दुवै सुनिश्चित हुने उनले विश्वास व्यक्त गरे।डा. सुब्बाले सिक्किमको कुल भौगोलिक क्षेत्रफलको ४० प्रतिशतभन्दा बढी भाग संरक्षित वन क्षेत्रमा पर्ने तथ्य पनि केन्द्रिय मन्त्रीको ध्यानमा ल्याए। संरक्षणप्रति राज्यको दृढ़ प्रतिबद्धता दोहोर्याउँदै उनले दिगो वन-आधारित इको-पर्यटन प्रवर्द्धनका लागि विशेष आर्थिक प्याकेज आवश्यक रहेको बताए।उनले नियन्त्रित ट्रेकिङ तथा हाइकिङ मार्गहरूको विकास, पर्यावरणमैत्री क्याम्पिङ स्थल स्थापना, इन्टरप्रिटेशन सेन्टर निर्माण तथा समुदाय-नेतृत्वमा पर्यटन कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरे। यस्ता पहलहरूले संरक्षणलाई मजबुत बनाउँदै स्थानीय तहमा रोजगारी सिर्जना गर्ने उनको विश्वास व्यक्त गरे।मन्त्री यादवले सांसदद्वारा उठाइएका विषयहरूलाई गम्भीरतापूर्वक सुनेर सकारात्मक रूपमा अध्ययन गरिने आश्वासन दिए। डा. सुब्बाले मन्त्रालयबाट लक्षित सहयोग प्राप्त हुने आशा व्यक्त गरे।


