युवाहरूमा अनुशासन, जिम्मेवारी र पार्टीप्रतिको निष्ठा हुनुपर्छ: एनबी दाहाल
गान्तोक, 29 जुलाई। खाम्दोङ-सिङ्ताम समष्टिमा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न भएको छ। पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा सिङ्तामस्थित मारवाडी भवनमा आज आयोजित कार्यक्रममा क्षेत्र विधायक तथा सड़क एवम् पुल विभागका मन्त्री एनबी दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दाहालले युवाहरूमा अनुशासन, जिम्मेवारी र पार्टीप्रतिको निष्ठा हुनुपर्नेमा जोड दिए। उनले खाम्दोङ-सिङ्ताम समष्टिमा सम्पन्न भएका विभिन्न विकासात्मक कार्यहरूको जानकारी गराउँदै सरकार विकास र जनसेवामा प्रतिबद्ध रहेको बताए। उनले नेता र पार्टीविरुद्ध विपक्षी दलहरूले अनैतिक गतिविधि गरे त्यसको उचित जवाफ दिइने चेताउनी समेत दिए। यसअघि समष्टिस्तरीय युवा संयोजक प्रकाश प्रधानले आफ्नो सम्बोधनमा अघिल्लो कार्यकालका विधायकले क्षेत्रलाई लथालिङ्ग अवस्थामा छोडेको तितो अनुभव स्मरण गर्दै वर्तमान विधायक जनताको सेवा र क्षेत्रको समग्र विकासप्रति समर्पित भएर कार्य गरिरहेको बताए। गान्तोक जिल्ला युवा प्रभारी फुर्बा दोर्जी तामाङले सबै तहका पार्टी कार्यकर्तासँग समन्वय गर्दै युवाहरूलाई सक्रिय रूपमा परिचालन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे। राज्यस्तरीय युवा प्रकोष्ठका साङ्गठनिक महासचिव सञ्जीव गुरुङले एसकेएम पार्टीले जनहितमा गरेका कार्यहरूको चर्चा गर्दै पार्टीका नीति तथा कार्यक्रमबारे प्रकाश पारे। पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङका विचार र अवधारणाबारे प्रष्ट पार्दै नरेश छेत्रीले उनलाई “जनआन्दोलनको नेतृत्व गर्दै जननायकका रूपमा स्थापित जनप्रिय नेता” भनी व्याख्या गरे। युवा प्रकोष्ठका राज्य महासचिव योगेन राईले पार्टीको नीति र सिद्धान्तलाई तृणमूल तहसम्म पुर्याउन युवा कार्यकर्ताले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे सुझाउ राखे। उनले पार्टीका विभिन्न कार्यक्रमहरूको प्रभावकारी व्यवस्थापनका लागि अपनाउनुपर्ने कार्यविधिबारे पनि प्रष्ट पारे। साथै, सरकारले नीति, पूर्वाधार र विकासलाई केन्द्रमा राखेर कार्य गरिरहेको उनले बताए। कार्यक्रममा युवा प्रकोष्ठका राज्य समन्वयक नरेन श्रेष्ठ, संयोजक जीवन सुब्बा, ओएसडी शर्मिला छेत्री, समन्वयक विशाल छेत्री, सामाजिक सञ्जाल प्रकोष्ठका अध्यक्ष नवीन दाहाल तथा पार्टीका अन्य पदाधिकारी एवम् कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


