गान्तोक, 25 फरवरी । सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले आज राज्यपाल ओमप्रकाश माथुरको निमन्त्रणमा राज्यपाललाई लोकभवनमा शिष्टाचार भेट गऱ्यो। प्रतिनिधिमण्डलको अगुवाई पार्टी अध्यक्ष गणेश कुमार राईले गरेका थिए। यस भेटको क्रममा राज्यपालसॅंग अथपूर्ण र रचनात्मक कुराकानी भएको सीएपीले आज प्रेस विज्ञप्तिमा बताएको छ
भेटघाटको क्रममा प्रतिनिधिमण्डलले सिक्किमका जनताको कल्याण, लोकतान्त्रिक अधिकार र समग्र विकास सम्बन्धी महत्त्वपूर्ण मुद्दाहरूमा व्यापक छलफल गरेको बताइएको छ। सुशासन, पारदर्शिता, युवा सशक्तिकरण, दिगो विकास, सिक्किमको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र संवैधानिक तथा सामाजिक-आर्थिक अधिकारहरूको संरक्षण सम्बन्धी विषयमा विस्तृत रूपमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ।
राज्यको एक प्रमुख विपक्षी राजनीतिक दलको रूपमा सीएपी सिक्किमले भारतीय संविधान अनुसार काम गर्ने र उच्चतम स्तरमा संवैधानिक मूल्यमान्यताहरूलाई कायम राख्ने आफ्नो अटल प्रतिबद्धतालाई पुन: पुष्टि गरेको जनाइएको छ। पार्टीले संविधान भारतीय लोकतन्त्रको मार्गदर्शक सिद्धान्त रहेको र यसलाई सधैं सबै संस्था र राजनीतिक विचारहरूभन्दा माथि राखिनुपर्छ भन्ने कुरामा जोड दियो। सीएपीले आफ्नो राजनीतिक आचरण र सार्वजनिक संलग्नता संवैधानिक नैतिकता, लोकतान्त्रिक सिद्धान्तहरू र कानूनको शासनद्वारा निर्देशित रहने बताएको छ।
सीएपीले राजभवनको नाम लोक भवन राखेकोमा पनि प्रशंसा व्यक्त गर्दै यसले सिक्किमका जनताको कल्याणप्रति पहुँच, समावेशीता र प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ भनेको छ। पार्टीले राज्यपाल माथुरलाई निमन्त्रणा, सौहार्दपूर्ण अन्तरक्रिया र सिक्किमको वृहत्तर हितमा निरन्तर संलग्नताको आश्वासनको लागि हार्दिक आभार व्यक्त गरेको छ।
Leave a comment


