गान्तोक, ३१ अक्टोबर। राष्ट्रिय एकता दिवसको अवसरमा आज सिक्किमको लोक भवन परिसरमा भारतका लौह पुरुष सरदार वल्लभभाई पटेलको जयन्ती श्रद्धापूर्वक पालन गरिएको छ। यस अवसरमा सिक्किमका राज्यपाल दुष्यन्त गौतमको तर्फबाट आयुक्त एवं सचिव जितेन्द्र सिंह राजेले लोक भवन परिसरमा स्थापित सरदार वल्लभभाई पटेलको प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे।
लोक भवनका अनुसार, कार्यक्रममा लोक भवन सचिवालयका अधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। माल्यार्पणपछि उपस्थित सबैले देशको एकता, अखण्डता र सुरक्षालाई कायम राख्ने प्रतिबद्धतासहित राष्ट्रिय एकता दिवसको शपथ ग्रहण गरे।
आयुक्त राजेले राष्ट्रिय एकता र अखण्डताका महान् शिल्पकार सरदार वल्लभभाई पटेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै भारतलाई एकताको सूत्रमा बाँध्न उनले पुर्याएको अतुलनीय योगदान र राष्ट्रप्रतिको अटुट समर्पणले सबैलाई सदैव प्रेरित गरिरहने बताए।
उल्लेखनीय छ, सरदार वल्लभभाई पटेल स्वतन्त्र भारतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए। देशका ५०० भन्दा बढी रियासतहरूको एकीकरण गरी अखण्ड भारत निर्माणमा उनले ऐतिहासिक भूमिका निर्वाह गरेका थिए। यही योगदानका कारण उनलाई ‘भारतका लौह पुरुष’ भनेर चिनिन्छ। उनको जयन्तीको अवसरमा प्रत्येक वर्ष ३१ अक्टोबरलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाइन्छ।
Leave a comment


