गान्तोक, 05 फरवरी । सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले 4 फरवरीका दिन रम्फूको खेल मैदानमा आयोजित पार्टीको 14औँ स्थापना दिवस कार्यक्रम अत्यन्तै भव्य, ऐतिहासिक तथा अभूतपूर्व रूपमा सफल भएको बताएको छ। एसकेएमले कार्यक्रमको सफलताको श्रेय पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्व, अथक परिश्रम र प्रेरणादायी मार्गदर्शनलाई अर्पण गर्दै हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
एसकेएम सामाजिक सञ्जाल प्रकोष्ठ अध्यक्ष नवीन दाहालले कार्यक्रमलाई भव्य र ऐतिहासिक रूपमा सफल बनाउन अपार उत्साहका साथ सहभागिता जनाउने राज्यका 6 वटै जिल्ला तथा 32 वटै समष्टिका आम जनसमुदायप्रति पार्टी विशेष आभार प्रकट गरेका छन्। उनले जनताको विशाल उपस्थितिले पार्टीप्रति रहेको अटुट विश्वास, समर्थन र जन आन्दोलनदेखिकै ऊर्जा आज पनि उत्तिकै सशक्त रहेको स्पष्ट रूपमा प्रमाणित भएको आज प्रेस विज्ञप्तिमा ठहर गरेका छन्।
उनले कार्यक्रम सफल पार्न दिन-रात अतुलनीय योगदान पुऱ्याउने सम्पूर्ण योद्धाहरूको योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। यसैगरी, कार्यक्रमलाई सुव्यवस्थित, सुरक्षित र सफल बनाउन सहयोग पुऱ्याउने प्रहरी प्रशासन तथा सरकारका अन्य सम्बन्धित निकायहरू, राज्यभरिका सबै समष्टिका सारथीहरू तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुऱ्याउने सबैप्रति पनि एसकेएमले कृतज्ञता ज्ञापन गरेको छ।
Leave a comment


