पाकिम, 13 अप्रेल। पाकिमको कार्थोकस्थित आर्चरी फिल्डमा चलिरहेको 23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप टुर्नामेन्ट चौथो दिनमा प्रवेश गरेको छ। आज राज्य खेलकुद एवं युवा मामिला विभागका मन्त्री राजु बस्नेत र मानेबुङ देन्ताम निर्वाचन क्षेत्रका विधायक सुदेश कुमार सुब्बा अतिथिका रूपमा सहभागी बने। विधायक एवं प्रतियोगिता आयोजन समितिकी अध्यक्ष पामिन लेप्चाले अतिथिहरूलाई स्वागत जनाइन्।
चौथो दिन मेनामला ब्लू र डेमाजोङ ताथाङचेनबीच प्रतिस्पर्धा भयो, जसमा मेनामला ब्लूले प्रतिद्वन्दी दललाई 39-33 ले पराजित गऱ्यो। विजेता दलका तेन्जिङ पिन्चोलाई उनको उत्कृष्ट प्रदर्शनको निम्ति म्यान अफ् द म्याच चयनित गरियो।
यस अवसरमा आमन्त्रित अतिथिहरूले गुड्डी पनि उडाए, जुन आजको कार्यक्रमको मुख्य आकर्षण थियो। यस अतिरिक्त, डार्ट, गुड्डी उडाउने र परम्परागत खेलहरूको प्रतियोगिता पनि सम्पन्न गरियो। स्वदेशी खेलकुदलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यसरी आर्चरी टुर्नामेन्टसॅंगै परम्परागत प्रतियोगिताहरू पनि आयोजना भइरहेको बताइएको छ।
कार्यक्रम स्थलमा प्रधानमन्त्री जन आरोग्य योजना पञ्जीकरण र स्वास्थ्य शिविरको सुविधा पनि उपलब्ध गराइएको छ। यसैगरी, स्वयं सहायता समूहहरूले आफ्ना उत्पादहरू बिक्रीमा राखेका छन्। रंगारंग सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुतिका साथ आयोजना भइरहेको खेलकुद प्रतियोगिता आगामी 27 अप्रेलसम्म चल्नेछ।
