
गान्तोक, 16 नोभेम्बर । प्रतिष्ठित ’41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ आइतवारदेखि राजधानीको पाल्जोर स्टेडियममा शुरू भएको छ। सिक्किम फुटबल एसोसिएशनको तत्वावधानमा आयोजना भइरहेको यस टुनामेन्टमा कुल 16 फुटबल क्लबहरूले भाग लिइरहेका छन्। यस टुर्नामेन्टको फाइनल 29 नोभेम्बर, 2025 मा हुनेछ।
आज पहिलो दिन कुल दुईवटा खेल खेलाइयो, जसमा सिक्किम हिमालयन एससी र सिक्किम पुलिस एफटी विजयी बने। टुर्नामेन्टको उद्घाटन समारोहमा राज्य खेलकुद एवं युवा मामिला विभाग मन्त्री राजु बस्नेत मुख्य अतिथि थिए। मन्त्री बस्नेतले 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025 शुरू भएको आधिकारिक घोषणा गरे।
पहिलो खेल सिक्किम ब्रदरवुड एफसी र सिक्किम हिमालयन एससीबीच सम्पन्न भयो, जसमा सिक्किम हिमालयन एससीले प्रतिद्वन्दी दललाई 3-1 ले पराजित गऱ्यो। विजयी दलको तर्फबाट एरोन थापाले दुई गोल र सीला टुरेले एक गोल गरे। पराजित दलको तर्फबाट एकमात्र गोल शिवम खडकाले गरेका थिए।
दोस्रो खेल जीटीए दार्जिलिङ एकादश बनाम सिक्किम पुलिस एफटीबीच सम्पन्न भयो, जसमा सिक्किम पुलिसले प्रतिद्वन्दी दललाई 3-1 ले पराजित गऱ्यो। विजयी दलको तर्फबाट सुराग छेत्रीले दुई गोल र साङ्गे छोपेलले एक गोल गरे भने पराजित दलका तर्फबाट एकमात्र गोल सप्तक शेर्पाले गरेका थिए। दोस्रो खेलमा वन विभाग मन्त्री पिन्चो नामग्याल लेप्चा मुख्य अतिथि थिए।
भोलि टुर्नामेन्टको दोस्रो दिन पनि दुईवटा खेल खेलाइने छ। पहिलो खेल टिबेटन एनएफए बनाम सिक्किम ड्रेगन्स एफसीबीच हुनेछ भने दोस्रो खेल सर्विसेस एफटी बनाम सिक्किम आक्रमण एससीबीच खेलाइने छ।


