गान्तोक, 28 सेप्टेम्बर। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले विशेष गहन पुनरीक्षण (एसआईआर) लगायत निर्वाचन प्रक्रियाबारे कांग्रेस तथा विपक्षी दलहरूले फैलाइरहेको कथित भ्रामक प्रचारलाई निर्वाचन आयोगको संयुक्त वक्तव्यले स्पष्ट पारेको दाबी गरेको छ।भाजपा सिक्किमका प्रवक्ता पासाङ ग्याली शेर्पाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन आयोगले एसआईआरलगायत प्रमुख सञ्चालन तथा नियामकसम्बन्धी निर्णयहरू पूर्ण आयोगको सर्वसम्मत स्वीकृतिमा गरिएको स्पष्ट पारेको उल्लेख छ। मन्त्रिमण्डलका सचिवलाई पठाइएको पत्र पनि प्रतिनियुक्तिमा रहेका एक अधिकारीसँग सम्बन्धित आन्तरिक प्रशासनिक विषय मात्र भएको र आयोगको नीति, सूचना प्रविधि विभाग वा एसआईआर प्रक्रियासँग कुनै सम्बन्ध नरहेको आयोगले स्पष्ट पारेको भाजपाले जनाएको छ।विज्ञप्तिमा एसआईआरका लागि प्रयोग हुने फारम-६ सँग संलग्न घोषणालाई भारतको सर्वोच्च अदालतले परीक्षण गरी कायम राखेको उल्लेख गरिएको छ। एसआईआरबाहेकका पुनरीक्षणका लागि मतदाता दर्ता नियमावली, १९६० अन्तर्गतका विद्यमान कानुनी प्रक्रिया यथावत् रहेको र कुनै प्रक्रियागत नियम परिवर्तन वा कमजोर नबनाइएको भाजपाले जनाएको छ।निर्वाचन आयोगले अधिकतम मतदाता सहभागिता सुनिश्चित गर्न श्रमिक, घरबारविहीन नागरिक तथा रात्रि आश्रयस्थलमा बस्ने नागरिकका लागि विशेष पहुँच कार्यक्रम सञ्चालन गर्नुका साथै योग्य नागरिकको नामावलीमा दर्ता सहज बनाउन बूथस्तरीय अधिकारीमार्फत घरदैलो अभियान सञ्चालन गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ।भाजपाले सिक्किममा हालै एसआईआर प्रक्रिया सम्पन्न भएको र यस क्रममा सबै दर्ता भएका राजनीतिक दललाई प्रत्येक मतदान केन्द्रमा आफ्ना बूथस्तरीय एजेन्ट तथा बीएलए-२ प्रतिनिधि मनोनयन गर्न भनिएको जनाएको छ। मतदाता विवरणको प्रमाणीकरण तथा जाँचमा सहयोग गर्न र सबै मान्यता प्राप्त राजनीतिक दललाई बूथस्तरीय अधिकारीसँग समान रूपमा सहभागी हुने अवसर प्रदान गर्नु यसको उद्देश्य रहेको भाजपाको भनाइ छ।यस स्थापित प्रक्रियाका आधारमा एसआईआरमा भाजपामाथि हेरफेर वा अनियमितताको आरोप लगाउनु तथ्यहीन र निराधार रहेको विज्ञप्तिमा दाबी गरिएको छ। प्रमाणबिना लगाइने आरोपले निर्वाचन प्रक्रियामा जनविश्वास कमजोर पार्ने तथा जनतालाई भ्रमित गर्ने काम गर्न नहुने भाजपाले जनाएको छ।


